धनगढी, ४ असार / सुर्नया गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणका सन्दर्भमा नेपाल विद्यार्थी संघ, सुर्नया गाउँपालिका समन्वय समितिले बहुआयामिक सुझाव पेश गरेको छ।
जेठ २९ गते गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै नीति तथा कार्यक्रमका लागि सुझाव माग गरेअनुसार नेपाल विद्यार्थी संघले शिक्षा, स्वास्थ्य, सडक, पर्यटन, कृषि, युवा, बजेट पारदर्शिता लगायत १३ वटा शीर्षकमा विस्तृत सुझाव पत्र बुझाएको नेपाल विद्यार्थी संघका सुर्नयाका संयोजक जयन्त प्रसाद भट्टले जानकारी दिए।
संघले गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरूमा पोषणयुक्त खाजाको व्यवस्था, सुविधा सम्पन्न पुस्तकालय, पर्याप्त फर्निचर, भवन, खेलमैदान, विज्ञान प्रयोगशाला जस्ता आधारभूत संरचनाको अभाव तत्काल समाधान गर्न माग गरेको छ। साथै, कक्षा १० एसईई र कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सीपमूलक तालिम र रोजगारीमुखी कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ।
स्वास्थ्य सेवामा घर-घरमा नागरिकको आधारभूत स्वास्थ्य जाँच गर्ने, निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने र स्वास्थ्य चौकीहरूमा अत्यावश्यक औषधिको सुनिश्चितता गर्नुपर्ने माग गरिएको छ। त्यस्तै, बेरोजगार युवालाई लक्षित गरी सीपमूलक तालिम, सहुलियतपूर्ण ऋण र खेलकुद सामग्री वितरण जस्ता कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइएको छ।
बजेट र योजना व्यवस्थापनमा योजना एक लाखभन्दा कम नबनाउने र कार्यान्वयनमा प्रभावकारीता सुनिश्चित गर्नुपर्ने उल्लेख छ।नेपाल विद्यार्थी संघ सुर्नया गाउँपालिका समन्वय समितिका संयोजक जयन्त प्रसाद भट्टले आज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकराज जोशीलाई बुझाएका हुन् ।


