धनगढी, ४ असार / सुशासन र पारदर्शिताको नारासँगै अघि बढिरहेको दाबी गर्ने सुर्नया गाउँपालिकामा जनताको आवाज दबाउने प्रयास भएको आरोप लागेको छ। असार ३ गते ( मंगलबार) गाउँपालिकाको कार्यालयमा सार्वजनिक सुनुवाइको माग गर्दै निवेदन दर्ता गराउन गएका स्थानीय युवा सुरेश बिष्टको निवेदन दर्ता नै नगरिएको उनले बताएका छन्।
बिष्ट बिहान ११ बजे गाउँपालिकामा निवेदन बुझाउन गएका थिए। तर प्रमुख प्रशासकीय अधिकृत लोकराज जोशीले निवेदन तत्काल दर्ता नगरी गाउँपालिकाका अध्यक्ष अमरबहादुर कुँवर लगायत सँग छलफल गरेर दर्ता गर्ने बताए। साँझ ४ बजेसम्म पर्खिए पनि निवेदन दर्ता नभएको बिष्टको गुनासो छ।
“के अब नागरिकको निवेदन दर्ता गर्न पनि अध्यक्षको आदेश आवश्यक छ?” बिष्टले आक्रोश पोख्दै भने, “लोकतन्त्रको नाममा यो कुन शैली हो? कर्मचारी प्रशासन अध्यक्षको निजी निर्देशनमा चल्ने हुन् भने नागरिकले अधिकार खोज्न कहाँ जाने भनेर चिन्ता व्यक्त गरेका छन्।
सार्वजनिक सुनुवाइको माग लोकतान्त्रिक व्यवस्थाको अभिन्न अङ्ग हो। तर यस्तो मागलाई समेत वेवास्ता गरिएकोमा युवा बिष्टले दु:ख व्यक्त गरेका छन्।
तर सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकराज जोशीले भने बिष्टको आरोपलाई अस्वीकार गरेका छन्। आफूले निवेदन कार्यपालिकाको बैठकमा लगेर सबैलाई जानकारी गराई दर्ता गर्छु भनेको तर उहाँले दिन नमानेको बताए।
दर्ता नै गर्नुपर्छ भनेर अडान राख्दा आफूले कर्मचारीलाई दर्ता गरिदिन समेत भनेको उनको भनाइ छ। एकछिनपछि कार्यपालिकाको बैठक चलेकाले आफू व्यस्त रहँदा कार्यालय सहयोगी लगाएर बोलाउन खोज्दा समेत उहाँले आउन नमानेको अधिकृत जोशीले बताए।
केही दिनमै सूचना निकालेर सार्वजनिक सुनवाई गर्ने तयारीमा रहेको समेत उनले बताएका छन् ।