धनगढी, ३ असार / आर्थिक वर्ष २०८०/०८१ मा सुर्नया गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले गरेको चीन भ्रमण नियम संगत नरहेको देखिएको छ । महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिए अनुसार गाउँपालिकाका अध्यक्ष अमरबहादुर कुँवर र उपाध्यक्ष मञ्जु महरा बोहराले गरेको भ्रमण पालिकालाई आर्थिक भार पर्ने गरी आफूखुशी गरेको उल्लेख गरिएको छ ।
स्थानीय तहका पदाधिकारीहरूको विदेश भ्रमण सम्बन्धी निर्देशिका २०७५ मा जारी भएअनुसार पालिकाका पदाधिकारीहरूले विदेश भ्रमण गर्दा मनोनयन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीले गर्नुपर्नेमा सुर्नया गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई मनोनयन गरेको कागज प्रमाण भने देखिँदैन ।

स्थानीय तहले खर्च बेहोर्नुपर्ने भएमा सो वापतको रकम चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रमको सम्बन्धी शीर्षकमा रकम विनियोजन भएको हुनुपर्ने व्यवस्था समेत रहेको छ। तर पालिकाले यस आर्थिक वर्षमा आकस्मिक कोष शीर्षकबाट अध्यक्ष र उपाध्यक्षको चिनको छेङ्दु प्रान्तमा भ्रमण गरी कार्यविधि विपरीत ८ लाख ७६ हजार ६ सय ४० रकम अनियमित गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा विदेश भ्रमण जाँदा भ्रमण आदेश समेत निर्देशिका विपरीत आफै स्वीकृत गरी पालिकाले आकस्मिक कोषबाट दैनिक भ्रमण खर्च वापत भुक्तानी गरेर भ्रमण गर्नु उपलब्धि विहिन र उद्देश्यविहीन भ्रमण भएको ठहर गर्न सकिने समेत प्रतिवेदनमा समावेश छ।
एकातिर भ्रमणको उपयोगिता, आवश्यकताको कुनै लेखाजोखा छैन भने , स्थानीय तहको सामाजिक, सांस्कृतिक, विकास र सेवा प्रवाह तथा अन्य विविध क्षेत्रमा पनि पालिकाका नेतृत्व जिम्मेवार हुन नसकेको ठहर गर्न सकिन्छ।