धनगढी, ३१ जेठ ।कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायको विदेश भ्रमणका क्रममा दुई लाख रुपैयाँ अनियमितता भएको पाईएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनले उपाध्यायले चीन भ्रमणका क्रममा स्वीकृति नलिई सरकारी खर्च प्रयोग गरेको उल्लेख गरेको हो।
प्रतिवेदन अनुसार अध्यक्ष उपाध्यायले चीन भ्रमणमा २ लाख रुपैयाँ खर्च गरेका छन्। तर जिल्ला समन्वय समितिका प्रमुख र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति नलिई गाउँ कार्यपालिकाको निर्णयमार्फत उक्त भ्रमण खर्च गरिएको पाइएको छ।
नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७५ साल असार ५ गतेको निर्णयअनुसार जारी गरिएको स्थानीय तहका पदाधिकारीहरूको विदेश भ्रमण सम्बन्धी निर्देशिका, २०७५ को दफा ४ मा अन्य स्थानीय पदाधिकारीले विदेश भ्रमणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनिवार्य स्वीकृति लिनुपर्ने प्रावधान छ।
तर अध्यक्ष उपाध्यायले सो कानुनी व्यवस्था विपरीत आफ्नै पालिकाको निर्णयबाट विदेश भ्रमणमा सहभागी भई सरकारी कोषबाट खर्च निकालेका छन्। यस कार्यले वित्तीय अनुशासनको उल्लंघन गरेको भन्दै महालेखाको प्रतिवेदनमा प्रश्न उठाइएको छ।
