धनगढी, ३० जेठ / राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार धनगढीमा ‘राष्ट्रिय होटेल तथा रेस्टुरेण्ट सर्वेक्षण २०८०’ को नतिजा सार्वजनिक गरेको छ। तथ्याङ्क कार्यालयले २०६० मा गरेको सर्वेक्षण २० वर्ष पछि २०८० मा सर्वेक्षण गरेर भोजन व्यवसायसँग सम्बन्धी प्रतिष्ठानहरु तारे होटल , रिसोर्ट लगायत होमस्टे हरुको समेत सर्वेक्षण गरि तथ्याङ्क सार्वजनिक गरेको तथ्याङ्क कार्यालयले जनाएको छ।
सङ्ख्या ,कामदार, आयआर्जन, लगायत होटेल व्यवसायका सबै क्षेत्रमा बागमती प्रदेश अगाडि देखिन्छ भने सुदूरपश्चिम र कर्णाली पुछारमा रहेका छन्। कर्णाली भन्दा पनि सुदूरपश्चिम तथ्याङ्कगत आयआर्जनमा भने पछाडि परेको देखिन्छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालय गरेको सर्वेक्षण अनुसार देशभर १ लाख ४२ हजार २ सय २३ होटेल रहेकोमा कोशी प्रदेशमा २५ हजार ८ सय ८७ , मधेस प्रदेशमा ११ हजार ७ सय ४० , बागमती प्रदेशमा ५२ हजार १ सय २३ , गण्डकी प्रदेशमा १६ हजार ९ सय ७६ , लुम्बिनी प्रदेशमा २० हजार १ सय ५८ , कर्णाली प्रदेशमा ७ हजार १ सय १० र सुदूरपश्चिम प्रदेशमा ८ हजार २ सय २८ होटेलको संख्या रहेको तथ्याङ्क सार्वजनिक गरेको छ।
जसअनुसार सवैभन्दा वढी होटेल बागमती प्रदेशमा र कर्णाली प्रदेशमा सबैभन्दा कम रहेको जनाएको छ । सुदुरपश्चिम प्रदेश भने कर्णाली प्रदेश भन्दा अगाडी रहेको छ ।
यस्तै होटेल व्यवसायमा समग्र नेपालको अवस्था हेर्दा ६६ पैसा लगानी गरेर एक रूपैयाँ आयआर्जन गर्न सकिने देखिन्छ । तर सुदूरपश्चिमको हकमा भने यो महङ्गो परेको छ।
सुदूरपश्चिमका होटेल व्यवसायीहरूले १ रूपैयाँ कमाउन ७४ पैसा लगानी गर्नुपरेको तथ्याङ्कमा उल्लेख गरिएको छ। कोशी र मधेस प्रदेशमा ७० पैसा लगानीमा १ रूपैयाँ कमाउन सकिन्छ भने, बागमतीमा ६४ पैसा लगानी , गण्डकीमा ६५ पैसा लगानी, लुम्बिनीमा ६९ पैसा लगानी र कर्णालीमा ६६ पैसा लगानी गरेर एक रुपैया कमाउन सकिने देखिन्छ।
देशभर ६३ प्रतिशत होटेल मात्रै दर्ता रहेको तथ्याङ्क समेत सार्वजनिक गरेको । तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा होटेल व्यवसायले राष्ट्रिय आयमा पुगेको सहयोग, देशभर होटेल व्यवसायमा संलग्न कामदारको संख्या, तलव सुविधा,लागत मूल्य, उत्पादन मूल्य, स्थायी सम्पत्ति र ऋणको अवस्था समेतको नतिजा सर्वेक्षणमा समावेश गरिएको छ।
राष्ट्रिय होटेल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८० को नतिजा सार्वजनिक कार्यक्रमको सभाध्यक्षता राष्ट्रिय तथ्याङ्क कार्यालयका उप- प्रमुख तथ्याङ्क अधिकारी ढुण्डिराज लामिछानेले गरेका थिए। प्रमुख अतिथिमा होटेल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डे रहेका थिए।
उक्त नतिजा सार्वजनिक कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरू बाट सहभागिता रहेको थियो। राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक पृथ्वी विजयराज सिजापतिले आफ्नो प्रस्तुतिकरणद्वारा स्पष्ट पारेका थिए। यस्तै कार्यक्रमको सञ्चालन राष्ट्रिय तथ्याङ्क कार्यालयका तथ्याङ्क अधिकृत लक्ष्मण कँडेलले गरेका थिए।