धनगढी, २७ जेठ / पछिल्लो केही दिनयता धनगढीमा तापक्रम अत्यधिक वृद्धि भएको छ। यतिबेला यहाँको मौसम ४० डिग्री सेल्सियस आसपास पुग्दा सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएको छ। त्यसमाथि नेपाल विद्युत प्राधिकरणले गरेको अनियमित लोडसेडिङले स्थानीय बासिन्दालाई झनै समस्या थपेको छ।
गर्मी बढेसँगै विद्यालय र कलेजहरूमा ‘गर्मी विदा’ दिइएको छ। तर घरमै बसिरहेका बालबालिका र वृद्धवृद्धाका लागि यो गर्मी झनै पीडादायी बनेको छ। विद्युत आपूर्ति बेलाबेलामा अवरुद्ध हुँदा पंखा , एसी, कुलर पनि चलाउन नपाउँदा अवस्था प्रतिकुल बनेको हो । अस्पताल, उद्योग र साना व्यवसायहरू समेत प्रभावित भएका छन्।
स्थानीय बासिन्दाहरू भने विद्युत प्राधिकरणप्रति आक्रोशित छन्। तर नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले भने ट्रान्सफर्मरमा भार बढी भएकाले लोडसेडिङ बढेको प्रतिक्रिया दिएको छ।