धनगढी, २४ जेठ / निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि., धनगढीले स्माइल ट्रेनको सहयोगमा जन्मजात ओठ र तालु चिरिएको समस्या भएका बालबालिकाको निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ। अस्पतालले आज एक पत्रकार सम्मेलन मार्फत सेवाको विस्तृत जानकारी दिएको हो ।
स्माइल ट्रेन नामक अमेरिकी गैर–नाफामूलक संस्थाको सहयोगमा प्रदान गरिने सेवाअन्तर्गत निसर्ग अस्पताललाई चयन गरेर सेवा दिन सुरु गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिए। स्माइल ट्रेनको टोलीले अस्पतालको शल्यकक्ष, आईसीयू, पिकीयु लगायत सम्पूर्ण पूर्वाधारको निरीक्षण गरी स्वीकृति दिएको निसर्ग अस्पतालका अध्यक्ष तीर्थराज पन्तले जानकारी दिए।
अस्पतालले स्ट्याण्डर्ड सर्जरी सेफ्टी एण्ड क्वालिटी प्रोटोकल अनुरूप सेवा दिने अस्पतालका सर्जन डाक्टर दीपक ठकुराठीले दाबी गरे।
यस कार्यक्रममा खटिएका विशेषज्ञहरूमा डा. दीपक थकुराठी क्लेफ्ट सर्जन, डा. हेमन्त ओझा र डा. सुनिल भट्ट क्लेफ्ट एन्थेसिया छन्। यस्तै, बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र र डा. दीपक पौडेलसहित डेन्टल, स्पिच, नुट्रिशन, नर्सिङ, साइकोलोजी र सामाजिक सञ्जालसम्बन्धी टोलीले समेत महत्वपूर्ण भूमिका खेलेको अस्पतालको भनाइ छ।
शल्यक्रिया सम्बन्धी सम्पूर्ण प्रक्रिया—जाँच, भर्ना, अपरेसन र औषधि—निःशुल्क हुने पत्रकार सम्मेलन मार्फत अध्यक्ष पन्तले जानकारी दिए। यस्तै उपचाररत बिरामी र एकजना कुरुवाको लागि निःशुल्कको बस्ने व्यवस्थासँगै आवतजावतको यातायात सुविधा समेत उपलब्ध रहेको बताए।
निसर्ग अस्पतालले राजधानी जानु पर्ने बाध्यतालाई अन्त्य गर्दै सुदूरपश्चिम लगायत मध्यपश्चिमका नागरिकले निसर्ग अस्पताल धनगढीमा नै गुणस्तरीय सेवा पाउने बारे जनाएको छ। जेठ २० गतेदेखि सुरु गरेको उक्त निशुल्क हल्ल्याक्रिया सेवामा २ जना बिरामीले सेवा लिएको जानकारी दिए।