धनगढी ,१९ जेठ / सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक प्रदेश सभाबाट पारित भएको छ । सोमबार बसेको प्रदेश सभाको बैठकबाट विद्येयक पारित भएको हो ।
सभामुख भीमबहादुर भण्डारीले प्रदेश भित्रका स्थानीय तहमा कर्मचारीको व्यवस्थापन र सेवा प्रवाहका लागि आवश्यक भएकाले विद्येयक तयार गरेर प्रदेश सभाबाट पारित गरिएको उद्घोष गरेका छन् । गत वर्ष प्रदेश सभामा पेश भएको विद्येयक संशोधनसहित बहुमतले पारित भएको हो ।
तर, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरुले भने विद्येयक पारित हुने बेला प्रदेश सभाको बैठक बहिष्कार गरेका छन् । विद्येयकको छलफलमा उठान भएका प्रश्नहरुको जवाफ दिने क्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीको अभिव्यक्तिलाई लिएर बैठक बहिष्कार गरिएको जनाएका छन् ।
कानुन मन्त्री सार्कीले छलफलमा उठान भएका प्रश्नको जवाफ दिने क्रममा कांग्रेसका प्रमुख सचेतक बिक्रम धामी र एमालेका प्रमुख सचेतक चक्रबहादुर मल्लबाट प्राप्त सुझाव विद्येयकमा समावेश गर्ने बताएका थिए । तर सुरुवातमा भने धामी र मल्लसहित माओवादी केन्द्रका अक्कलबहादुर रावल र नेकपा एकीकृत समाजवादीका नरेश बहादुर शाहीलाई समेत धन्यवाद दिएका थिए ।