धनगढी,१० जेठ । महालेखापरीक्षकको कार्यालयअन्तर्गतको लेखा परीक्षण प्रणाली छलेर राजस्व दाखिलामा किर्ते गरेको आरोपमा दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्टलाई प्रहरीले पक्राउ गरेको छ।
महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०र८१ मा गरेको परीक्षणका क्रममा भट्टले रु दुई लाख राजस्व दाखिला नगरेको पाइएपछि मुद्दा दर्ता गरिएको हो।सुदूरपश्चिम प्रदेश प्रहरीको निर्देशनमा सदरमुकाम खलङ्गाबाट उनलाई बुधबार पक्राउ गरी मुलुकी फौजदारी ऐनअन्तर्गत अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी छत्र रावतले जानकारी दिए।
भट्टले नेपाल लेखा व्यवस्थापन प्रणाली (LMBIS) मा राजस्व दाखिलाको भौचर अपलोड गरे पनि उक्त रकम सरकारी खातामा नजमाएको पाइएको हो। कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाको पत्राचारपछि भट्टले मात्र पाँच महिनापछि चैत १९ गते उक्त रकम दाखिला गरेका थिए। महालेखापरीक्षक तोयम रायाले यस घटनामा अनुसन्धान गर्न सम्बन्धित शाखालाई निर्देशन दिएपछि प्रक्रिया अघि बढाइएको हो।