धनगढी, ९ जेठ / चार वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ निवासी २७ वर्षीय उमेश नेपाली रहेका छन्।
२०७८ साल माघ २ गते धनगढी उप-महानगरपालिका वडा नम्बर ११ मा २० वर्षीय प्रकाश नेपालीको मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा नेपाली फरार रहेका थिए। मृतक प्रकाश नेपाली गोदावरी नगरपालिका वडा नम्बर ५ का बासिन्दा थिए।
उक्त घटनापछि प्रहरीमा किटानी जाहेरी परेको भए पनि आरोपी उमेश नेपाली वारदातको मितिदेखि नै फरार थिए। प्रहरीका अनुसार हालै जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले उनलाई पक्राउ गरी जिल्ला अदालत कैलालीबाट म्याद थप गरी हिरासतमा राखिएको छ।
हाल उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।