धनगढी,७ जेठ । आर्थिक वर्ष २०८०र८१ मा सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहको संयुक्त बेरुजु रकम २ अर्ब ११ करोड ४१ लाख ७ हजार पुगेको छ। महालेखा परीक्षक कार्यालयको ६२औं वार्षिक प्रतिवेदन अनुसार सबैभन्दा धेरै बेरुजु कञ्चनपुरको भीमदत्त नगरपालिकामा देखिएको छ।
भीमदत्त नगरपालिकाको बेरुजु मात्रै १५ करोड १ लाख ६८ हजार रहेको छ। त्यस्तै, कैलालीको मोहन्याल गाउँपालिकामा ७ करोड ६ लाख ७३ हजार र कञ्चनपुरकै बेलौरी नगरपालिकामा ६ करोड ७३ लाख ४७ हजार बेरुजु देखिएको छ।
सुदूरपश्चिम प्रदेशभरिका पालिकामध्ये सबैभन्दा कम बेरुजु डडेलधुराको अजयमेरु गाउँपालिका र बझाङको साइपाल गाउँपालिकामा देखिएको छ। अजयमेरुमा २५ लाख ६५ हजार र साइपालमा २३ लाख ८६ हजार बेरुजु मात्र देखिएको छ।