धनगढी, ६ जेठ/ सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी डम्बरबहादुर विश्वकर्माले प्रदेशभित्र प्रहरी संगठनमा व्यवसायिकता र नैतिक आचरणको अभाव रहेको बताएका छन्। उनले गैरपेशागत व्यवहार र अनुशासनहीनता नियन्त्रणमा ल्याउन संगठनभित्र व्यापक सुधार आवश्यक रहेको स्पष्ट पारेका छन्।
हालै मात्र प्रदेश प्रहरीको कमाण्ड सम्हालेका डिआइजी विश्वकर्माले विभिन्न जिल्लामा निरीक्षण तथा अनुगमनका क्रममा प्रहरी कर्मचारीलाई पेशागत मर्यादा र उच्च नैतिकताको पालना गर्न निर्देशन दिएका छन्। उनले सादा पोसाकमा परिचालित प्रहरी घुमुवाको अनियन्त्रित गतिविधि, गैरकानुनी आर्थिक चलखेल र आन्तरिक द्वन्द्वले प्रहरी संगठनको छवि धूमिल बनिरहेको बताएका छन्।
“हामी किन प्रहरी भएका हौं? हाम्रो जिम्मेवारी के होरु भन्ने कुरा बुझेर इमान्दारिता र नैतिकताका साथ काम गर्न आवश्यक छ, डिआइजी विश्वकर्माले भने, प्रहरीले व्यवसायिक धर्म नबिर्सी, अनुशासनमा रही कार्य गर्नुपर्छ।
उनले चोरी–तस्करी, लागुऔषध दुर्व्यसन र सीमावर्ती क्षेत्रका आपराधिक गतिविधिमाथि शून्य सहनशीलता नीति अपनाउनुपर्नेमा जोड दिएका छन्। साथै, समाजसँग सहकार्य गर्दै प्रहरी–नागरिक साझेदारीमा आधारित मोडालिटीमा अघि बढ्नुपर्ने पनि उनले स्पष्ट पारे।
डिआइजी विश्वकर्माले सामाजिक सञ्जालको दुरुपयोग नगर्न, गैरपेशागत आर्थिक व्यवहारमा संलग्न नहुन र बल प्रयोग गर्दा मानवअधिकारको सम्मान गर्नसमेत सचेत गराएका छन्।
राम्रा कार्य गर्ने प्रहरीलाई पुरस्कृत गरिन्छ, तर लापरवाही गर्ने प्रति कडा कारबाही हुन्छ, उनले चेतावनी दिए।
उनले हालसम्म सुदूरपश्चिमका अधिकांश जिल्ला प्रहरी कार्यालयको निरीक्षण सम्पन्न गरिसकेका छन्। निरीक्षणका क्रममा उनले प्रहरी कर्मचारीहरूलाई मानसिक र शारीरिक रूपमा स्वस्थ रहँदै, पेशागत गुनासाहरू विधि र प्रक्रियाअनुसार पेश गर्न पनि निर्देशन दिएका छन्।