बैतडी, ६ जेठ / सोमबार आएको तेज हावा, हुरी र वर्षाका कारण बैतडीको सिगास गाउँपालिका–५ खैरकोट, सल्याली, ढुंगाडका केही घरहरू र सामग्रीहरूमा ठूलो क्षति पुगेको छ। बिपद् व्यवस्थापन शाखा, गर्जे बैतडीका अनुसार अन्य वडाहरूमा पनि के कति क्षति पुगेको छ भन्ने विवरण संकलनको प्रक्रियामा छ। सम्बन्धित वडाका अध्यक्षहरू र वडा स्तरीय बिपद् व्यवस्थापन समितिहरूसँग निरन्तर छलफल र समन्वय भइरहेको जानकारी दिइएको छ।
बिपद् व्यवस्थापन शाखाले क्षति भएको स्थान नजिकका छिमेकीहरू, वडा समितिहरू र प्रहरी चौकीसँग सहजीकरण गरी आवश्यक तथ्यांक संकलन तथा राहत कार्यमा सहयोग गर्न अनुरोध गरेको छ।
यस्तो विपद् जुनसुकै समयमा पनि आउने भएकाले सबैलाई विशेष सतर्कता अपनाउन आह्वान गरिएको छ । साथै, सुरक्षित रहन, आवश्यक सावधानी अपनाउन र आकस्मिक परिस्थितिमा सम्बन्धित निकायसँग सम्पर्कमा रहन आग्रह गरिएको छ।