धनगढी, ५ जेष्ठ / सुदूरपश्चिम प्रदेशको पर्यटन विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको हस्पिटालिटी मेनेजमेन्ट तालिम सम्पन्न भएको छ। धनगढीमा आयोजित उक्त तालिमको सहभागीलाई प्रमाणपत्र वितरण गर्दै सम्पन्न भएको हो।
प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोग तथा प्रदेश पर्यटन विकास कार्यक्रमको समन्वयमा होटल व्यवसायी संघ कैलालीद्वारा तालिम आयोजना गरिएको हो। जेष्ठ १ गतेदेखि सञ्चालन भएको तालिम पाँच दिनसम्म चलेको थियो, जसमा कैलाली र कञ्चनपुर जिल्लाका ४० जना सहभागी रहेका होटेल व्यवसायी सङ्घ कैलालीका महासचिव अवेश चन्दले जानकारी दिए।
समापन समारोहका प्रमुख अतिथि होटल व्यवसायी महासंघ नेपालका पर्यटन सचिव कलम बम थिए। कार्यक्रममा अतिथिका रुपमा कर अधिकृत मोहन सिंह बस्नेतको, महासंघका सल्लाहकार प्रमानन्द भण्डारी तथा पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा लगायत सहभागी र होटेल व्यवसायी सङ्घका पदाधिकारीको उपस्थिति रहेको थियो।
होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशवदत्त पाण्डेको अध्यक्षतामा कार्यक्रम समापन गरिएको हो।