धनगढी,८ चैत– धनगढीमा तरकारीको कालोबजारी गर्ने एक व्यापारीलाई २ लाख जरिवाना गरिएको छ । शुक्रवार धनगढी उपमहानगरपालिका,वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त अनुगमन टोलीले तरकारीमा कालोबजारी गरेको भन्दै धनगढीको दक्षिणकाली हाटबजारमा रहेको ओम शारदा ट्रेर्डसका सञ्चालक शारदा साउद लाई २ लाख जरिवाना गरेको हो ।
साउदले बिल विजक जारी नगरी तरकारी बेचेको पाइएकाले उनलाई जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका निमित्त प्रमुख कमल बहादुर पुन मगरले बताए ।
अनुगमनका क्रममा ओम शारदा ट्रेर्डसले ३ सय ९२ बोरा आलु खरिद गरिएको देखिन्छ,‘जसमा चैत्र १ गते देखी ७ गते सम्म बिक्री गरेको तरकारीमा बिलबिजक जारी नगरेको पाइएपछि कानुन बमोजिम कारबाही गरेका हौ,उनले भने ।’
बजारमा कालोबजारी गरिएको पाइएमा अनुगमन समितिलाई २ देखी ३ लाख गर्न सक्ने अधिकार रहेकामा आफु्हरुले २ लाख मात्रै जरिवाना गराएको उनले बताए । सङ्कटको समयमा कालोबजारी गर्नै जो कोहीलाई पनि नछोड्ने उनले चेतावनी दिए ।