हृदय पुजारा
अध्यक्ष, हिस्टून कैलाली
विगत दुई दशक देखि
म बोर्डमा अक्षर लेख्दैछु,
विद्यार्थीहरूको आँखा उज्यालो बनाउँदैछु,
तर,
मेरो जिन्दगी अझै अध्यारोमा छ ।
म साबिक उ.मा.वि शिक्षक ।
कसैले मलाई ’गेस्ट’ भन्यो,
कसैले ’करार’, कसैले ’अस्थायी’।
तर म भने कहिल्यै अस्थायी थिएन,
विद्यार्थीहरुका सपना जस्तै स्थायी रहेँ ।
म साबिक उ.मा.वि शिक्षक ।
दुःखका थुप्रै दिन देखेँ,
दुईतले भवन बन्यो,
तर मेरो तलब अझै एक तले सपनामा अड्किएको छ ।
प्रधानाध्यापक फेरिए, देशका मन्त्री फेरिए,
फेरिएन त केबल
मेरो सेवा अवस्थाको नाम ।
म साबिक उ.मा.वि शिक्षक ।
कहिल्यै बिराएँन पाठ योजना,
न ढिलाई गरें कक्षामा,
तर फेरि पनि
मेरो पहिचान एक ’कागजी मान्यता’ मा झुण्डिरह्यो ।
म साबिक उ.मा.वि शिक्षक ।
हजारौ शिक्षक साथीहरुलाई तालिममा ,
सपना बाड्दै हिडे,
अनुभव बाँड्दै हिडे,
व्यवस्था फेरियो, तर अबस्था फेरियन
म साबिक उ.मा.वि शिक्षक ।
विद्यार्थीले बोलाउछ “सर !“
त्यो सम्मान मेरो सबैभन्दा ठूलो तलब हो ।
तर पेटले त सम्मान खाँदैन,
घरको छानोले त भावुकता ओढ्दैन ।
म साबिक उ.मा.वि शिक्षक ।
म गुनासो गर्दिन,
तर मौनता चिच्याइरहेको छ,
के शिक्षक बन्नु दोष होरु
के राष्ट्र बनाउने सपना देख्नु पाप हो रु
म साबिक उ.मा.वि शिक्षक ।
न शिक्षकको दर्जा दियौ,
न पहिचान दियौ,
केवल दियौ त जिम्मेवारी,
पुर्व विश्वविद्यालय सिक्षाको,
म साबिक उ.मा.वि शिक्षक ।
आज म पनि सडकमा छु
म आन्दोलनमा छु ,
किनभने शिक्षा बेचिन थालेको छ,
र शिक्षक हराउँदै गएका छन् ।