धनगढी, १ फागुन/नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सम्मेलनका लागि लगाइएका झण्डा हटाइएको छ। अत्तरिया चोकदेखि धनगढीको चौराहा र मुख्य सडकमा टाँगिएका झण्डा तरुण दल र नेविसंघले बिहीबार हटाएका हुन्।
मुख्यमन्त्री कार्यालयअगाडि रहेको मुख्य सडकमा राखिएको झण्डा हटाउने क्रममा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीर बहादुर बलायरले तरुण दललाई सफाइका साथ झण्डा हटाउन निर्देशन दिएको बताए। उनले भने, “हाम्रो कार्यक्रम हिजो मात्र सम्पन्न भएको हो, त्यसैले आज बिहानैदेखि झण्डा हटाउने काम सुरु भइसकेको छ। हामी जहाँ उभिएका छौं, त्यो सडक कसले बनाएको हो भन्ने बुझ्नुपर्छ। यदि कसैले कांग्रेसलाई दोष लगाउन चाहन्छ भने, कांग्रेसले बनाएको सडकमा हिँड्न छाडे हुन्छ।”
त्यस्तै, तरुण दलका केन्द्रीय सदस्य लोक बहादुर खड्काले सम्मेलन सकिएपछि सफाइको काम थालिएको बताए। “हामीले टाँगेका झण्डा सुरक्षित रूपमा भण्डारण गरेर अर्को कार्यक्रममा प्रयोग गर्ने उद्देश्यले हटाएका हौं,” उनले भने।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सम्मेलन सोमबारदेखि सुरु भएको थियो। उद्घाटनका लागि सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरू धनगढी पुगेका थिए। सम्मेलनअन्तर्गतका कार्यक्रमहरू बुधबार साँझ सकिएको कांग्रेस सुदूरपश्चिमका प्रवक्ता सरत रावत (डोटेली कान्छा) ले जानकारी दिए।