धनगढी २० फागुन/पछिल्लो समयमा देशभरबाट वैदेशिक रोजगारीमा जानेको संख्या वर्षेनि बढ्दै जान थालेको छ ।श्रम मन्त्रालयले मंगलबार धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय गोष्ठिमा सार्वजनिक गरेको एक तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा नयाँ र पुनः गरी ७ लाख ४१ हजार २९७ जनाले श्रम स्वीकृति लिएका छन् ।
श्रम स्वीकृति लिएका मध्ये महिलाको संख्या ८० हजार १७२ रहेको छ भने बाँकी सबै पुरुष रहेका छन् । नेपाल सरकारले संस्थागत रुपमा १११ र व्यक्तिगत रुपमा गरी १७८ देशका लागि श्रम आप्रवासन खुला गरेको छ । श्रम मन्त्रालयका उपसचिव बसन्त बोहोराले रोजगारीका लागि तेस्रो देश पलायन हुने क्रम बढ्दै गएकोले संभावित क्षेत्र पहिचान गरी गत वर्ष सात वटै प्रदेशमा रोजगार श्रम सम्मेलनको आयोजना गरिएको बताए । उनले यस वर्षपनि सरकार र नीजि क्षेत्रको समन्वयमा आन्तरिक रोजगारी सृजनाका क्षेत्र पहिचान गर्न चैत १६ गते काठमाण्डौंमा रोजगार सम्मेलन गरिने तयारी भइरहेको बताए । राष्ट्रिय श्रम तथा बेरोजगार सम्मेलन पोलिसी निर्माण, श्रम सम्बन्धी बुझाईमा एकरुपता ल्याउन सम्मेलन आयोजना गरिन लागेको जानकारी दिए ।
कर्यक्रममा सोसलसाइन्ज वहाका अर्जुन खरेलले २०२३ र ०२४ मा गरेको अध्ययनको प्रस्तुतीकरण गर्दै नयाँ र पुनः गरी दुई वर्षमा १५ लाखले श्रमस्वीकृति लिएको बताए । उनले पछिल्लो समयमा श्रमस्वीकृति लिनेमा महिलाहरु ब्ढ्दै गएको बताए । उनले देशका अन्य प्रदेशको तुलनामा बैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिनेमा सुदूरपश्चिम प्रदेश पुछारमा रहेको बताए । उनले दुई वर्षको समयमा सुदूरपश्चिमबाट महिला र पुरुष गरी २३ हजार श्रमस्वीकृति लिएर बैदेशिक रोजगारीमा गएको बताए । उनले सुदूरपश्चिमबाट जिल्लागत रुपमा कञ्चनपुर, कैलाली, बैतडी र अछामबाट बढी रोजगारीका लागि श्रमस्वीकृति लिनेमा परेको बताए । उनले सुदूरपश्चिमबाट बैदेशिक रोजगारीमा गएका दुई आर्थिक वर्षमा ५५ जनाले ज्यान गुमाएको बताए । गएको दुई वर्षमा १६ लाख ७४ हजार ७०६ जना सामाजिक सुरक्षा कोषमा आवद्ध रहेको बताए ।
राष्ट्र बैंकको तथ्यांक अनुसार गएको दुई वर्ष १४ खर्ब ४५ अर्ब रेमिट्यान्स भित्रिएको तथ्यांक रहेको छ । नेपालमा ३५.६ प्रतिशतको घरमा पैसा पुगेकोमा सुदूरपश्चिममा ४१.१ प्रतिशत घरले पैसा पाएको जनाइएको छ । कार्यक्रममा मन्त्रालयका शाखा अधिकृत पुष्पा झा, विभिन्न श्रमिक संगठनसँग आवद्ध व्यक्ति लगायतको सहभागिता रहेको श्रम तथा रोजगार कार्यालय धनगढीका प्रमुख जनक उखेडाले जानकारी दिए ।
