धनगढी, ७ फागुन / धनगढी ८ क्याम्पस रोडमा विगत केही महिना अगाडिदेखि सञ्चालनमा आएको खुला उडानको स्वामित्व ४ जना विद्यार्थीले लिएका छन्। पढ्दै कमाउँदै गर्ने उद्देश्यले कैलाली बहुमुखी क्याम्पसमा कानुन संकाय तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले आफै सञ्चालन गर्ने गरी बन्द गरिन लागेको खुला उडानको स्वामित्व लिएर सञ्चालन गर्ने भएका हुन्।
आन्तरिक मामिला मन्त्रालयका उप सचिव आमोद किशोर दाहालको परिकल्पनामा स्थापना भएको खुलाउडान करिब १० महिना भन्दा बढी समय सञ्चालन भएको थियो। खुला उडानमा बजारिया परिकारभन्दा ताजा आर्गनिक खाजाका परिकार सँगै विद्यार्थीहरूलाई ५हजार ऋण दिने , उचाई नाप्ने तौल नाप्ने मेसिनसँगै पछिल्लो समयमा काठमा फोटो सजाउने प्रिन्टरको समेत प्रयोग गरी सहज र सस्तो तरिकाले सेवा दिइरहेको थियो।
आमोद किशोर दाहालको आफ्नो व्यस्ततासँगै विद्यार्थी हरूले पनि आफ्नै मातहतमा लिएर सञ्चालन गर्न नसक्ने बताएपछि बन्द हुनै लागेको खुला उडान फेरि नयाँ तरिकाले सञ्चालन गर्ने गरी चारजना विद्यार्थीको समूहले तयारीका साथ आफ्नो जिम्मेवारीमा लिएका छन्।
यसले गर्दा विद्यार्थीहरूलाई आत्मनिर्भर हुन र भविष्यमा आर्थिक जोहो गर्ने सिपको समेत विकास हुने भएकाले पनि विद्यार्थीको लागि पढ्दै कमाउँदै गरिएको यो व्यवसाय प्रभावकारी हुने देखिन्छ।
अहिले उक्त खुल्ला उडान सञ्चालकको जिम्मेवारी कैलाली बहुमुखी क्याम्पसमा कानुन संकाय तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी विनोद अधिकारी, धीरेन्द्र खड्का, चरित्र बुढा र सम्झना जिसीको समूहले लिएका छन्।