धनगढी- धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर ओड लाई धनगढी जेसिजको मानार्थ सदस्यता प्रदान गरिएको छ । धनगढी जेसिज बर्ष २०२० को पहिलो कार्य समिती बैठकले ओड लाई जेसिजको मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको हो ।
धनगढी जेसिजको विधानमा समाजीक सेवामा योगदान पुगाएका तथा जेसिजको विभिन्न क्रियाकलापमा सहभागीता जनाउने एवम् योगदान दिने व्यक्तीलाई मानार्थ सदस्यता प्रदान गर्न सकिने व्यवस्था बमोजिम ओडलाई मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरिएको धनगढी जेसिजका अध्यक्ष श्याम पाठकले बताउनुभयो ।

बैठकमा धनगढी जेसिजका कार्यकारी उपाध्यक्ष इन्जिनियर रोशन भट्टले उहाँलाई सदस्यता प्रदानका लागी प्रस्ताव गर्नुभएको थियो भने सर्वसम्मत रुपमा उक्त प्रस्ताव पारित भएको थियो । बैठकको उक्त निर्णय धनगढी जेसिजको आगामी साधारण सभाले अनुमोदन गर्नेछ ।
सदस्यता दिने निर्णय पछि आफ्नो प्रतिक्रियामा नगर प्रमुख ओडले उक्त निर्णयले आफुलाई अत्यन्तै हर्षित बनाएको भन्दै धनगढी जेसिजका अध्यक्ष सहित सबैलाई धन्यावाद ज्ञापन गर्नुभयो ।

धनगढी जेसिजको आस्था र गरिमालाई आफुले पुर्णरुपमा पालना गर्दै आफ्नो दैनिकि तथा कार्यक्षेत्रमा अनुशरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै धनगढी जेसिजको पहिलो बैठकले बार्षीक रुपमा गरिने कार्य विवरण तथा कार्य विभाजन समेत सार्वजनिक गरेको छ ।