धनगढी ९ कार्तिक/ कैलालीको धनगढीदेखि बर्दिया र बर्दियादेखि धनगढीसम्म हुलाकी राजमार्गमा बस सेवा सुरु भएको छ । सुन्दर सुदूरपश्चिम यातायात प्रालिले कैलालीको धनगढी-टीकापुर हुँदै बर्दियाको राजापुर-शान्तिबजारसम्म बस सेवा सुरु गरेको हो ।
धनगढीको क्याम्पस रोडबाट फूलबारी हुँदै सत्तीसम्म चार वटा बसमार्फत सेवा सुरु गरेको सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमबहादुर सोपकोटाले बताए । उनले बर्दियाका यातायात व्यवसायीसँगको छलफलपछि राजापुर, शान्तिबजारसम्म हुलाकी राजमार्गमा यातायात सेवा दिने बताए ।
धनगढीको क्याम्पस रोडबाट दैनिक बिहान दुई बस सत्तीका लागि र दुई बस सत्तीबाट धनगढीका लागि प्रत्येक बिहान आउने गरेका छन् । धनगढी-फूलबारी-लालबोजी-टीकापुर हुँदै सत्तीसम्मको हुलाकी राजमार्गमा हाल बस सेवा सुरु गरिएको हो ।