बाजुरा १७ असोज/जिल्ला अस्पताल बाजुरामा सुत्केरी हुन आएकी एक महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत बिहीबार विहान उद्धार गरिएको छ ।
बाजुरा जिल्लाको पुर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिका–९ की १५ वर्षीया सितारा नेपालीको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलले जानकारी दिएका छन् । उहाँले दिएको जानकारी अनुसार गर्भवती बालिकाको अवस्था जटिल भएपछि जिल्ला अस्पताल बाजुराले सुविधा सम्पन्न अस्पतालमा लैजान रिफर गरेपछि प्रशासन कार्यालयको पहलमा महिला तथा बालबालिका मन्त्रालय अन्तरगत राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उद्धार गरिएको बताए ।
कम उमेरकी गर्भवतीको ज्यान जोखिममा भएकाले जिल्लामा सुत्केरी गराउन सम्भव नभएपछि अस्पतालले रिफर गरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।अवैध सम्बन्ध राखेर गर्भवती गराउने बालिकाका मामालाई जिल्ला प्रहरी कार्यालय बाजुराले पक्राउ गरेको सहायक प्रमुख जिल्ला अधिकारी मण्डलले बताएका छन् । गर्भवती बालिकाका मामालाई हाड नाता करणीमा मुद्धा दायर गर्ने गरी प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।