बाजुरा,६ कार्तिक/ बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–३, जुकोटमा करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएका दुईवटा भवन प्रयोगविहीन अवस्थामा अलपत्र परेका छन् ।
पालिकाले क्याम्पस स्थापना गर्ने उद्देश्यले निर्माण गरेका भवन पाँच वर्षभन्दा बढी समय बितिसक्दा पनि प्रयोगमा आउन सकेका छैनन् । संरक्षण र नियमित उपयोगको अभावमा भवनका संरचनासमेत जीर्ण बन्दै गएका छन् ।
जुकोटको डाँडामा निर्माण गरिएका उक्त भवनमा कुल २ करोड ३६ लाख ६० हजार ३ सय २६ रुपैयाँ खर्च भएको गाउँपालिकाका सूचना अधिकारी सुविस्तबहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार जग्गा खरिदमा ७ लाख ७१ हजार १ सय ९० रुपैयाँ, भवन निर्माणमा १ करोड ५८ लाख ८९ हजार १ सय ३६ रुपैयाँ र पर्खाल निर्माणमा ६० लाख रुपैयाँ खर्च गरिएको थियो । भवन निर्माणका लागि भने तीन करोड रुपैयाँभन्दा बढीको ठेक्का सम्झौता गरिएको थियो ।
करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएका भवनका कोठामा अहिले गाईगोरु बस्ने गरेको स्थानीयले बताएका छन्।
गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले आफू निर्वाचित हुनुअघिको कार्यकालमा निर्माण भएका भवन प्रयोगमा ल्याउन प्रयास गरे पनि सफल हुन नसकेको बताए । उनका अनुसार सुरुमा जग्गा खरिद गर्दा शम्भुसुन्दा माध्यमिक विद्यालयका नाममा गरिएको थियो ।
स्वास्थ्य चौकी पुरानो र जीर्ण भवनबाट सेवा प्रवाह गरिरहेको छ भने वडा कार्यालयको आफ्नै भवनसमेत छैन । यता, माथिल्लो डाँडामा करोडौँ खर्च गरेर बनाइएका भवन भने उपयोगविहीन छन् ।
पालिकाले उक्त भवनमा विद्यालय सञ्चालन गर्ने, वडा कार्यालय राख्ने वा स्वास्थ्य चौकी सार्ने विकल्पमा छलफल गरे पनि स्थानीयबीचको विवादका कारण भवन प्रयोगमा ल्याउन नसकिएको जनाएको छ ।
विडम्बना, भवन निर्माण भएको स्थानभन्दा तल स्वास्थ्य चौकी र वडा कार्यालय सञ्चालनमा छन् । तर, दुवै कार्यालयलाई पर्याप्त भवनको अभाव छ ।
जुकोट स्वास्थ्य चौकी पुरानो र जीर्ण भवनबाट सेवा प्रवाह गरिरहेको छ भने वडा कार्यालयको आफ्नै भवनसमेत छैन । यता, माथिल्लो डाँडामा करोडौँ खर्च गरेर बनाइएका भवन भने उपयोगविहीन छन् ।
स्थानीयका अनुसार तल्लो जुकोट र माथिल्लो जुकोटबीचको विवादका कारण भवन प्रयोगमा ल्याउन समस्या भएको हो । विद्यालयको जग्गा शम्भुसुन्दा माध्यमिक विद्यालयका नाममा रहे पनि विद्यालयलाई नयाँ भवनमा सार्ने विषयमा सहमति जुट्न सकेको छैन । विद्यालय सञ्चालन भइरहेको स्थान र निर्माण गरिएका भवनबीच करिब दुई सय मिटरको दूरी छ ।
स्थानीयस्तरको विवादका कारण एकातिर विद्यालयलाई व्यवस्थित रूपमा सञ्चालन गर्न समस्या भएको छ भने अर्कोतिर स्वास्थ्य चौकी र वडा कार्यालय भवन अभावमा छन् । उपलब्ध संरचनाको उपयोग हुन नसक्दा सरकारी लगानी खेर जाने जोखिम बढेको छ ।
गाउँपालिकाले भवन सञ्चालनमा ल्याउन प्रयास भइरहेको जनाएको छ । तर, पाँच वर्षभन्दा बढी समयदेखि प्रयोगविहीन रहेका भवनलाई कहिले र कसरी उपयोगमा ल्याइन्छ भन्ने विषय अझै टुंगिएको छैन ।