बाजुरा, ५ असोज / बाजुराको पूर्वी–उत्तरी क्षेत्रमा पर्ने स्वामिकार्तिक खापर गाउँपालिकाबाट करिब ५० लाख रुपियाँ बराबरको स्याउ बिक्री भएको छ । गत भदौ १५ देखि असोज ४ गतेसम्म गाउँपालिकाका पाँचवटै वडाबाट उक्त मूल्य बराबरको स्याउ बिक्री भएको हो।
पछिल्लो समय यहाँका अधिकांश किसान स्याउ खेती गर्दै आएका छन्। केही वर्षअघि लगाएका स्याउका बोटमा यस वर्ष राम्रो उत्पादन भएको किसानले बताएका छन्।
स्वामिकार्तिक खापर गाउँपालिका–३ जोरुका स्याउ किसान हर्क लुहारले असोजको पहिलो सातादेखि मात्रै करिब चार लाख रुपियाँ बराबरको स्याउ बिक्री गरेको बताएका छन्।
गत वर्षको तुलनामा यस वर्ष स्याउको उत्पादन राम्रो भए पनि ढुवानी र कार्टुनको व्यवस्था नहुँदा समस्या भएको लुहारले बताए ।
स्वामिकार्तिक खापर गाउँपालिकामा करिब दुई हजार चार सय घरधुरी छन्। तीमध्ये एक हजार सात सय परिवारले स्याउ खेती गर्दै आएका छन्। यहाँ गोल्डेन, डेलिसियस, रेड डेलिसियस तथा स्थानीय जातका स्याउ उत्पादन हुने गरेका छन्।
यहाँका किसानले स्थानीय तथा उन्नत जातका स्याउ उत्पादन गर्दै आएका छन्। स्थानीय स्याउ प्रतिकिलो ३० देखि ३५ रुपियाँ र उन्नत जातको स्याउ बारीमै प्रतिकिलो ५० रुपियाँसम्ममा बिक्री हुने गरेको किसानले बताएका छन्।
स्वामिकार्तिक खापर गाउँपालिकाका सैदेव, सङ्कल्पे, रिब्डा, निफेरा, खुन्का, जेबाले, जोरु, गोठीगाउँ, घेजाडलगायत क्षेत्रमा स्याउ राम्रो उत्पादन हुने गरेको छ। अहिले यहाँको स्याउ देशका विभिन्न सहरमा पुग्ने गरेको छ।
स्याउ खेतीका लागि स्वामिकार्तिक बाजुराकै प्रख्यात क्षेत्र मानिन्छ। यहाँ पहिलेदेखि नै स्याउ उत्पादन हुँदै आए पनि सडक तथा बजारको अभावमा विगतमा यहाँको स्याउले सहज रूपमा बजार पाउन सकेको थिएन।
पछिल्लो समय गाउँबस्ती सडक सञ्जालमा जोडिएपछि यहाँको स्याउ देशका विभिन्न ठाउँमा पुग्न थालेको स्वामिकार्तिक खापर गाउँपालिकाले जनाएको छ।
स्वामिकार्तिक खापर गाउँपालिकामा करिब ९२ हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आएको कृषि शाखा प्रमुख विनोद शाहीले बताएका छन् ।
अहिले यहाँका अधिकांश किसानले दुई–चार बोट भए पनि स्याउ लगाउने गरेका छन् भने केहीले व्यावसायिक रूपमै स्याउ खेती गर्दै आएका छन्। असोजको पहिलो सातासम्म यहाँका किसानले करिब ५० लाख रुपियाँ बराबरको स्याउ बिक्री गरेको शाहीले बताए ।
बाजुराका हिमाली, स्वामिकार्तिक खापर, जगन्नाथ र बुढीनन्दा क्षेत्रमा पनि स्याउ उत्पादन हुने गरेको छ। हिमाली, जगन्नाथ र स्वामिकार्तिक खापरको स्याउ कर्णाली करिडोर हुँदै विभिन्न सहरमा पुग्ने गरेको छ। भने बुढीनन्दा नगरपालिकाको स्याउ सडक अवरुद्ध हुँदा बारीमै थन्किएको छ।
बाजुरामा चार सय १० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ। त्यसमध्ये करिब दुई सय हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन भइरहेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।