धनगढी, २२ जेठ / कैलालीको गोदावरी नगरपालिका–५ स्थित गेटा आँखा अस्पतालमा विभिन्न बेथिति, प्रशासनिक दमन र व्यवस्थापन कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै स्थानीयवासीले बृहत् भेला गरी संघर्ष समिति गठन गरेका छन्। शुक्रबार गोदावरी नगरपालिका क्षेत्रमा स्थायी बसोबास गर्ने समाजसेवी, ज्येष्ठ नागरिक तथा बुद्धिजीवीहरूको सहभागितामा सम्पन्न भेलाले अस्पताल प्रशासन र व्यवस्थापन समिति विरुद्ध चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ।
भेलाबाट गणेशराज विष्टको संयोजकत्वमा १५ सदस्यीय संघर्ष समिति गठन गरिएको छ। समितिमा उप–संयोजक रामचन्द्र भट्ट, सचिव भरत खड्का, सह–सचिव गिरिराज भण्डारीसहित अन्य सदस्यहरू रहेका छन्। त्यसैगरी लोकराज पाण्डेय ‘आगो’को संयोजकत्वमा सल्लाहकार समिति पनि गठन गरिएको छ।
स्थानीयहरूले अस्पतालमा कर्मचारीमाथि हुने गरेको भनिएको प्रशासनिक दमनको अन्त्य, उमेर हद नाघेका केही कर्मचारीको अवकाश, व्यवस्थापन समितिको पुनर्गठन तथा स्थानीय प्रतिनिधित्व ५० प्रतिशत पुर्याउनुपर्ने लगायतका ७ बुँदे माग अघि सारेका छन्।
त्यस्तै, नेपाल नेत्र ज्योति संघको आजीवन सदस्यता शुल्क सर्वसाधारणको पहुँचभन्दा बाहिर रहेको भन्दै त्यसलाई घटाउनुपर्ने, अस्पताल व्यवस्थापनमा पारदर्शिता कायम गर्नुपर्ने र पर्याप्त चिकित्सकको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ।
संघर्ष समितिले मागहरू ३ दिनभित्र सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ। आन्दोलनका क्रममा उत्पन्न हुन सक्ने क्षति वा परिस्थितिको जिम्मेवारी अस्पताल व्यवस्थापन समिति र सम्बन्धित प्रशासनले लिनुपर्ने स्थानीयहरूको भनाइ छ।
प्रशासन र कर्मचारीहरू बीचको आन्तरिक असन्तुष्टिलाई सुदूरपत्र अनलाइनको टिमले खुलासा गरे पछि स्थानीयहरू थप सजग हुँदा गेटा आँखा अस्पतालको आन्तरिक विवादले थप चर्चा पाएको छ। यस विषयमा सुदूरपत्र अनलाइनले विस्तृत जानकारी सहित अस्पतालभित्रको प्रशासनको अवस्था र कर्मचारीको अवस्थालाई लिएर सामग्री सम्प्रेषण गरेको थियो।
यस अगाडिका सम्प्रेसित समाचारहरू :-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनको विवाद , प्रशासकको तानाशाही प्रवृत्ति मुख्य समस्या
