गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनको विवाद , प्रशासकको तानाशाही प्रवृत्ति मुख्य समस्या

धनगढी, १९ जेठ /कैलालीको गेटा आँखा अस्पतालमा प्रशासन र कर्मचारीबीच विवाद सिर्जना भएको छ । कर्मचारीमाथि हुने व्यवहार, श्रम अधिकारको अवस्था र प्रशासनिक कार्यशैलीका कारण अस्पताल प्रशासन र व्यवस्थापन समिति विवादमा तानिएको हो ।
कर्मचारीहरुले अस्पताल प्रशासनलाई अधिकार माग्दा , आफ्नो समस्या राख्दा प्रशासनले मानसिक दबाब दिने, स्पष्टीकरण सोध्ने तथा जागिर नै जोखिममा पार्ने वातावरण सिर्जना गरेको गम्भीर आरोप लगाएका छन्।

अस्पतालमा कार्यरत कर्मचारीहरूले संस्थाभित्र लामो समयदेखि असन्तुष्टि बढ्दै गएको भए पनि बोल्न खोज्नेहरूलाई विभिन्न बहानामा दबाब दिइने भएकाले धेरै कर्मचारी खुलेर बोल्नसमेत डराउने अवस्था रहेको बताए । उनीहरूले अस्पतालभित्र सेवा दिनुभन्दा पनि जागिर जोगाउन संघर्ष गर्नुपर्ने परिस्थिति सिर्जना भएको गुनासो पोखे।
कर्मचारीहरूले नेपाल सरकारले गत आर्थिक वर्षमै वृद्धि गरेको मासिक ३ हजार रुपैयाँ महँगी भत्ता लामो समयसम्म उपलब्ध नगराएको , कानुनअनुसार पाउनुपर्ने सुविधा माग्दा समाधान दिनुको सट्टा प्रशासनले बेवास्ता र दबाबको नीति अपनाएको उनीहरूको आरोप छ।
पीडित कर्मचारीहरुले अस्पताल प्रशासनले आफूहरूका गुनासा सुन्ने र समाधान खोज्नेभन्दा पनि प्रश्न उठाउने कर्मचारीलाई स्पष्टीकरण सोध्ने, विभिन्न आरोप लगाउने तथा मनोवैज्ञानिक रूपमा कमजोर बनाउने रणनीति अपनाएको बताए। कर्मचारीहरूले अस्पतालमा योग्यताको मूल्याङ्कनभन्दा पनि ‘कसलाई काखा र कसलाई पाखा’ गर्ने प्रवृत्ति हावी भएको दाबी गरे ।
कर्मचारीहरूले व्यवस्थापनमाथि वृत्ति विकास, पदोन्नति, जिम्मेवारी बाँडफाँट र अवसर वितरणमा समेत विभेद गरेको आरोप लगाएका छन्। योग्य र दक्ष कर्मचारीलाई प्रोत्साहन गर्नुको सट्टा निरुत्साहित गर्ने प्रवृत्तिले संस्थाको समग्र कार्यक्षमतामै असर पुगेको कर्मचारीहरू बताउँछन् ।
स्थानीय पनि प्रशासनविरुद्ध:-
यस विषयमा थप जानकारी संकलनका लागि अस्पताल परिसर पुगेको सुदूरपत्रअनलाइनको टोलीले त्यहाँ स्थानीय र अस्पताल प्रशासनबीच चर्को विवाद भइरहेको अवस्था फेला पारेको थियो। स्थानीयहरूले अस्पताल प्रशासनको कार्यशैलीप्रति खुलेर असन्तुष्टि जनाएका थिए।
स्थानीयहरूको अस्पतालमा पछिल्लो समय सेवामुखीभन्दा पनि व्यापारिक सोच हावी हुँदै गएको र सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउनुको सट्टा आर्थिक लाभलाई प्राथमिकता दिइएको उनीहरूको दाबी छ। क्याबिन सेवामा दुई हजारदेखि दुई हजार पाँच सय रुपैयाँसम्म शुल्क लिइएको विषयमा …