धनगढी,२६ साउन / अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धीबारे दुई दिने अभिमुखीकरण तालिम धनगढीमा सुरु भएको छ। सफल नेपालको आयोजना र एबिलिस फाउण्डेसनको आर्थिक सहयोगमा सोमबारदेखि तालिम सुरु भएको हो।
सफल नेपालीकी अध्यक्ष रुपा रानी राईका अनुसार, राज्यले अपाङ्गता भएका व्यक्तिहरूलाई बेवास्ता गरिरहे पनि दातृ संस्थाहरूको सहयोगमा यस्ता कार्यक्रम सञ्चालन गरिँदै आएका छन्। तालिमको उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूलाई नियम, कानुन, आफ्नो हक–अधिकार र नेपालको संविधानमा उल्लेख गरिएका विषयमा जानकारी दिनु तथा उनीहरूलाई जागरूक बनाउनु रहेको छ।
राईका अनुसार, शिक्षा, स्वास्थ्य, बाँच्न पाउने अधिकार, स्वतन्त्रता जस्ता विषयमा संविधानले सुनिश्चित गरेका अधिकारहरूबारे ज्ञान दिलाउने र उनीहरूलाई आवश्यक सीप प्रदान गर्ने उद्देश्यसहित तालिम आयोजना गरिएको हो।
तालिममा अपाङ्गता भएका २३ जना बढी व्यक्तिहरूको सहभागिता रहेको छ भने उपेन्द्र खडायत र नन्दराज भट्टले प्रशिक्षण दिइरहेका छन्।