बैतडी, २७ असार / सुर्नया – ६ का नेपाल राष्ट्रिय शिक्षक संगठनका भूतपूर्व जिल्ला समिति सदस्य गंगा दत्त अवस्थी र नेकपा (एमाले) का भूतपूर्व गाउँ कमिटी अध्यक्ष मदन सिंह कुवरले एमाले परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।
राजनीतिक चेतनशीलता बढ्दै गएको बेला स्थानीय जनता, बुद्धिजीवी, शिक्षक, युवाहरूको समेत हस्ताक्षरसहितको समर्थन प्राप्त गर्दै अवस्थी, कुवरसहितको समूहले रास्वपाको विचारधारामा आस्था व्यक्त गर्दै औपचारिक रूपमा प्रवेश गरेका हुन्।
पार्टी प्रवेश कार्यक्रममा गंगा दत्त अवस्थीले वर्तमान राजनीतिक दलहरूले जनताको भरोसा गुमाएको भन्दै रास्वपाले देखाएको वैकल्पिक नेतृत्वमा विश्वास व्यक्त गरे। “अबको नेतृत्व नयाँ पुस्ताले लिनुपर्ने बेला आएको छ, रास्वपाले जनभावनालाई प्रतिनिधित्व गरिरहेको देखिन्छ,” उनले भन्नुभयो।
पूर्व एमाले नेता मदन सिंह कुवरले पनि पुराना पार्टीहरूबाट जनता निराश भएको र परिवर्तनको खोजी भइरहेको वर्तमानमा रास्वपाको विकल्प उपयुक्त भएको धारणा राखे। “हामी परिवर्तनको पक्षमा छौं, अनि जनताको आवाज बोल्न सक्ने शक्तिसँग जोडिन आएको हौं,” उनले बताए