धनगढी, २७ असार / धनगढी ११ मा रहेको शिवशक्ति सामुदायिक वनमा आज वृक्षारोपण कार्यक्रम गरिएको छ । सुदूरपश्चिम सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रमको उद्घाटन गरिएको सामुदायिक वनका अध्यक्ष राम चरण रानाले जानकारी दिए।
कैलाली सव-डिभिजन वन कार्यालयको अनुदानमा उपलब्ध बिरुवाहरू धनगढी ११ को बेला गाउँको क्षेत्र भित्र पर्ने शिवशक्ति वन क्षेत्रमा छ सय बोटबिरुवा रोपिएका अध्यक्ष रानाले जानकारी दिए।
“हरियो वन नेपालको धन” भन्ने नारालाई थप सार्थकता प्रदान गर्न आफुहरुले प्रत्येक वर्ष वृक्षारोपण गर्ने गरेको बताए।
कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री खड्काले मानव जीवनको मेरुदण्ड नै वन भएकाले सबैले संरक्षण गर्नुपर्ने बताए। उनले भने पर्यावरण सफा भए मात्रै हामी स्वस्थ रहन सक्ने भएकाले वन संरक्षणमा विशेष ध्यान दिन समेत मन्त्री खड्काले अनुरोध गरे ।
वृक्षारोपण कार्यक्रममा सामाजिक विकास मन्त्रालयका कर्मचारी, वनका कर्मचारी, पत्रकार, पदाधिकारी, उपभोक्ताको उपस्थिति रहेको थियो ।