धनगढी, २६ असार । कैलालीको चुरे गाउँपालिकाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा अत्यन्तै निराशाजनक देखिएको छ । पालिकाबाट परीक्षामा सहभागी भएका २५० जना विद्यार्थीमध्ये मात्र ४५ जना अर्थात् जम्मा १८ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन्।
शिक्षामा गरिएको लगानी र पालिकाको कमजोर प्रयासका कारण चुरे गाउँपालिकाका अधिकांश विद्यालयहरूको नतिजा कमजोर देखिएको हो। उपलब्ध विवरण अनुसार मोहन्याल माध्यमिक विद्यालय निगालीमा मात्र ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
त्यसपछि भानु माध्यमिक विद्यालय चित्रपुरमा २४ प्रतिशत, भैरव माध्यमिक विद्यालय अलाडमा १९ प्रतिशत, शुक्र माध्यमिक विद्यालय खानीडाँडामा १८ प्रतिशत, शिव माध्यमिक विद्यालय किम्तोलामा १४ प्रतिशत, जनता माध्यमिक विद्यालय बैसनी र शान्तिनगर दुवैमा १३ प्रतिशत, मेलकटेश्वर माध्यमिक विद्यालय बयला तथा भगवती माध्यमिक विद्यालय कोटढुङ्गेनीमा १० प्रतिशत मात्र विद्यार्थी पास भएका छन्।
विद्यालयहरूमा पालिका शिक्षक उपलब्ध गराएको भए पनि गुणस्तरीय शिक्षण सिकाइ प्रभावकारी नहुनु, शिक्षण पद्धति सुधारमा ध्यान नपुगेको, विद्यार्थीहरूको नियमित उपस्थिति नहुनु, शिक्षणको निरन्तर मूल्यांकनको अभाव, अभिभावकहरूको कम चासो तथा कमजोर अनुगमन प्रणालीजस्ता समस्याका कारण नतिजा कमजोर देखिएको हो ।
पछिल्लो समय पालिकाले विद्यालयको भौतिक पूर्वाधार सुधार, शैक्षिक सामग्री उपलब्ध गराउने, शिक्षक तालिम, अतिरिक्त कक्षा सञ्चालन लगायतका कार्यक्रमहरू सञ्चालन गरे पनि अपेक्षित सुधार देखिएको छैन।