धनगढी, २६ असार । यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा प्रदेश सरकारसँग नीति संवाद तथा छलफल कार्यक्रम धनगढीमा सम्पन्न भएको छ। विकासका लागि युवा एकबद्धता (यार्ड) को आयोजनामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सुदूरपश्चिममा यौन तथा प्रजनन स्वास्थ्य र यौनिकता शिक्षाको वर्तमान अवस्था, चुनौतीहरू र आवश्यक नीति तथा नियम निर्माणका पहलबारे छलफल गरिएको थियो । सहभागीहरूले सामुदायिक स्तरदेखि नीतिगत तहसम्म कसरी प्रभावकारी रूपमा काम गर्न सकिन्छ भन्नेबारे आफ्ना सुझाव प्रस्तुत गरेका थिए ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव हेमराज रेग्मीले यार्ड र मन्त्रालयका कार्यक्रमहरू मिल्दोजुल्दो भएकोले सहकार्य गरेर अगाडि बढ्न सकिने बताए। तर प्रदेश सरकारसँग बजेट, संगठन, जनशक्ति र संरचनाको सिमितता भएकाले तल्लो तहसम्म प्रभावकारी ढंगले पुग्न चुनौती रहेको उनले बताए । ‘नीतिगत, कानुनी, रणनीतिक र कार्यविधिमा भने हामीले निरन्तर काम गरिरहेका छौं,’ रेग्मीले भने।
शिक्षा मन्त्रालय अन्तर्गत प्रजनन स्वास्थ्य शिक्षा र सामाजिक विकृति न्यूनीकरणका लागि २५१ वटा सामुदायिक सिकाइ केन्द्र सञ्चालनमा रहेको वरिष्ठ शिक्षा अधिकृत जयदेव महराले बताए । उनले विद्यार्थी मात्र नभई अभिभावकहरूलाई पनि प्रजनन स्वास्थ्यबारे जानकारी दिन यी केन्द्रहरू उपयोग गर्नुपर्ने बताए।
परिवार नियोजन संघ कैलालीका प्रमुख चेतराज फुलाराले सरकारी विद्यालयमा प्रजनन स्वास्थ्यसम्बन्धी शिक्षा दिइएपनि निजी विद्यालयहरूमा त्यस्तो पहुँच नपुगेको बताए। निजी विद्यालयका शिक्षकलाई पनि यस्ता तालिम आवश्यक रहेको उनले बताए ।
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले विद्यालयमा नर्सको आवश्यकता भएपनि हालसम्म त्यसको व्यवस्था हुन नसकेको बताए। स्थानीय तहलाई जिम्मा दिइएपनि कार्यान्वयन हुन नसकेको उनले बताए। कार्यक्रममा यार्डमा आबद्ध युथ च्याम्पियनहरूले विद्यालय तथा समुदायमा सञ्चालित अभियानका अनुभवहरू सुनाएका थिए । उनीहरूले बृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे जनचेतनामा केही मात्र सुधार देखिएको बताएका थिए ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव हेमराज रेग्मी, मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत जयदेव महरा,राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेशका मानव अधिकार अधिकृत मन्दिरा श्रेष्ठ, परिवार नियोजन संघ कैलालीका प्रमुख चेतराज फुलारा, स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवर, सुदूरपश्चिम समाजका अध्यक्ष निरङ्ग चौधरी, धनगढीको महानगरपालिका शिक्षा शाखा प्रमुख लगायत विभिन्न संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको रहेको थियो।