धनगढी,२५ असार । त्रिनगर माध्यमिक विद्यालयले केही अनलाइन मिडियामा आएको समाचारप्रति आपत्ति जनाएको छ। विद्यालय प्रशासनले एक प्रेस विज्ञप्ति जारी गर्दै बलत्कार घटनामा जोडिएका व्यक्ति विद्यालयको शिक्षक, प्रशिक्षक केही नभएको स्पष्ट पारेको छ।
ती व्यक्ति विद्यालयका पूर्वविद्यार्थी भएको विद्यालयका प्रधानाध्यापक भूपाल खड्काले बताए । उनले जसलाई विद्यालयको पठनपाठन समय भन्दा पछि खेल मैदान प्रयोग गर्न मौखिक रूपमा अनुमति दिइएको थिए। उनी कुनै आधिकारिक प्रशिक्षक नभएको र विद्यालयको नियमित कर्मचारी वा कार्यक्रमसँग पनि संलग्न नरहेको उनले बताए ।
उनले भने “विद्यालयले ती व्यक्तिलाई केवल पूर्व विद्यार्थीको हैसियतले केही समय खेल मैदान प्रयोग गर्न दिनेको हो,तर ती गतिविधि विद्यालयको औपचारिक कार्यक्रम अन्तर्गत पर्दैनन्।”
विद्यालय प्रशासनले घटनाको छानबिन र दोषीमाथि कानुनी कारबाहीको समर्थन गर्दै विद्यालयको नाम जोडेर तथ्यहीन प्रचार नगरिन अनुरोध गरेको छ। साथै, सत्य तथ्यको आधारमा मात्रै समाचार सम्प्रेषण गर्न मिडियाप्रति आग्रह गरिएको छ। नियोजित रूपमा विद्यालयको छविमा आँच पुर्याउने प्रयासप्रति कडा आपत्ति जनाएको छ।
