धनगढी । सुदूरपश्चिम विश्वविद्यालयमा साउन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट भरत विष्टले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। अछामको कमलबजार नगरपालिका घर भएका विष्ट हाल कानुन सङ्कायमा तेस्रो वर्षमा अध्ययनरत छन्।
नेविसंघका पूर्व नगर सभापति समेत रहेका र नेविसंघबाट पुर्ब स्ववियु सदस्य समेत रहेका विष्टले उम्मेदवारी घोषणा गर्दै विश्वविद्यालयमा छात्रवृत्ति, पाठ्यपुस्तक अभाव, आवास, प्रशासनिक ढिलासुस्तीलगायतका समस्याहरू समाधान गर्न आफू दिनरात खटिने बताएका छन्। उनले विद्यार्थीका हकहितमा निरन्तर क्रियाशील रहँदै आएको दाबी गर्दै गुणस्तरीय शिक्षाको सुनिश्चितता, शैक्षिक सुधार, र कृषि, वन विज्ञान तथा होटेल म्यानेजमेन्ट (विएचएम) जस्ता समसामयिक विषयको अध्यापन सुरु गराउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्। विश्वविद्यालयलाई नयाँ दिशा दिन विद्यार्थीको साथ, सुझाव र सहकार्य आवश्यक पर्ने धारणा पनि उनले व्यक्त गरेका छन्।