धनगढी,२१ असार । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिच भेटवार्ता भएको छ । शनिवार बुढानीलकण्ठ स्थित देउवा निवास पुगेर मुख्यमन्त्री शाहले भेटवार्ता गरेका हुन ।
बिहीबार मात्रै आफू नेतृत्वको सरकारमा रहेका नागरिक उन्मुक्ति पार्टीका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि शाहले शनिवार पार्टी सभापति देउवालाई भेटेका छन् ।सभापति देउवालाई मुख्यमन्त्री शाहले मन्त्रीलाई पदमुक्त गर्नुको कारणसहित पछिल्लो घटनाक्रमबारे जानकारी गराएका थिए ।
सभापति देउवाले मुख्यमन्त्री शाहलाई देखिएका समस्याहरू वार्ता र संवाद मार्फत हल गर्न सुझाव दिएका थिए । नाउपासँग संवाद गरेर रिक्त रहेको मन्त्रालयमा नाउपाबाटै मन्त्री बनाउनेगरि अघि बढ्न मुख्यमन्त्री शाहलाई सभापति देउवाले सुझाव दिएका थिए । भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको मुख्यमन्त्री शाहका प्रेस संयोजक डम्बर बमले बताए ।
