धनगढी, २१ असार / कञ्चनपुरको पुनर्वास नगरपालिका–१ अंशुवर्मा स्थित हुलाकी सडकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
मंगलबार राति ११ बजेर २० मिनेटमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सु.प.प्र. ०१–०११ प ३४३२ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ ह ४६०४ नम्बरको पेट्रोलियम अटो एक आपसमा ठोक्किँदा अटो चालक गम्भीर घाइते भएका थिए।
दुर्घटनामा परेका अटो चालक पुनर्वास नगरपालिका–२ मोतिबस्ती निवासी ५० वर्षीय दानसिंहलाई उपचारका लागि तत्काल माया मेट्रो अस्पताल, धनगढी लगिएको थियो। तर, चिकित्सकले उनलाई राति १२ बजेतिर मृत घोषित गरेका थिए।
उक्त दुर्घटनामा मोटरसाइकल चालक पुनर्वास–४ ‘घ’ गाउँ निवासी २७ वर्षीय महेन्द्र शाही, अटोमा सवार पुनर्वास–२ का २८ वर्षीय गोविन्द सिंह र मोटरसाइकलको पछाडि सवार पुनर्वास–४ निवासी २९ वर्षीय कालु शाही घाइते भएका छन्।
घाइते महेन्द्र शाही र गोविन्द सिंहको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ भने कालु शाहीलाई स्थानीय पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।