कैलाली, १७ असार / राष्ट्रिय युवा संसद २०८१ मा सुदूरपश्चिम प्रदेशको कैलाली क्षेत्र नम्बर २ बाट भरत कठायत विजयी भएका छन्। युवा नेतृत्व र सामाजिक सक्रियतामा सधैं अग्रणी भूमिका निर्वाह गर्दै आएका कठायतलाई राष्ट्रिय युवा संसदमा प्रतिनिधित्व गर्ने अवसर प्राप्त भएको छ।
ग्लोबल युथ पार्लियामेन्टको आयोजनामा सञ्चालन हुने यस संसदमा देशभरिबाट युवा प्रतिनिधिहरू निर्वाचित गराएको छ । यसमा भरत कठायत पनि कैलालीको क्षेत्र नं २ बाट असार १५ गते भएको अनलाइन भोटिङबाट बहुतले विजयी भएका छन्।
कठायत विजयसँगै कैलाली मात्र नभई सम्पूर्ण सुदूरपश्चिमका युवाहरूको आवाज राष्ट्रिय स्तरमा पुग्ने अपेक्षा गरिएको छ।
नयाँ सोच, सकरात्मक परिवर्तन र नेतृत्व क्षमताका साथ अघि बढिरहेका कठायतले युवाका समस्यालाई संसदमार्फत उठाउने प्रतिवद्धता जनाएका छन्। “सिर्जनशील युवाहरूको प्रतिनिधित्व गर्दै देश विकासमा सकारात्मक योगदान दिन यो अवसर प्राप्त भएकोमा म सबैप्रति आभारी रहेको बताए।
राष्ट्रिय युवा संसद युवा नेतृत्व विकास, नीति निर्माणमा युवा सहभागिता र सशक्त आवाजको प्लेटफर्मको रूपमा स्थापित हुँदै आएको छ। युवा संसदको कार्यकाल आगामी २ बर्ष सम्म रहने छ।