धनगढी, १६ असार / आज बिहानैदेखि परेको अविरल वर्षका कारण धनगढी बासीको जनजीवन अस्तव्यस्त बनेको छ। धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्रमा पानी जम्मा भएर घरहरू डुबानमा परेका छन्।
आज बिहानदेखि परेको अविरल वर्षाका कारण विद्यालयहरू समेत सञ्चालन भएनन् भने व्यापार ,व्यवसाय , यातायात , मजदुरी गर्ने , सँगै सरकारी कार्यालयका कर्मचारी हरूलाई समेत कामकाजमा जान ठूलो चुनौती देखियो। बिशेषगरी धनगढी उपमहानगरपालिकाका १ , २ , ३ , ४ , ५, ७, ८ ,१३, १८ र १९ नम्बरवडाका करिब १५ सय घरमा पानी पसेर दैनिकीनै प्रभावित गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत शिवराज जोशीले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजकुमार सिंहका अनुसार “भारी वर्षका कारण धनगढीका मुख्य सडक देखि भित्री सडकहरूमा पानीले निकास नपाउँदा घरहरूमा पानी पसेको देखिन्छ। जसमध्ये आधिकारिक तथ्याङ्क अनुसार पानी पसेर अधिक समस्या भने करिब २ सय ५० घरमा भएको जानकारी दिए। विशेषगरी धनगढी उपमहानगरपालिकाको क्याम्परोड र शिवनगर क्षेत्रमा बढीमा पानी पसेको बताए ।
यस्तै धनगढी उपमहानगरपालिका ७ बेला र १३ नम्बरमा पर्ने श्रीलंकाका स्थानीयहरूको घरमा अधिक पानी पस्दा आफन्तको घरमासरेको समेत जानकारी दिए।
धनगढीमा कोठाभाडामा लिएर बस्ने विद्यार्थीहरूलाई भने झनै ठूलो समस्या भएको छ। शिवनगरमा कोठाभाडामा लिएर कैलाली बहुमुखी क्याम्पसमा पढ्ने टेकेन्द्र बोगटीले भने, विद्यार्थीहरूले विशेषगरी एक मात्रै कोठा लिएका हुन्छन् त्यसमा पनि पानी पस्दा आफूहरुलाई समान जोगाउनै समस्या भएको बताए।
यसरी भारी वर्षका कारण मानवीय क्षति भएको भने कुनै तथ्याङ्क आएको छैन। तर आजको दैनिकी भने अधिक प्रभावित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जोशीले जानकारी दिए।