धनगढी, १५ असार । २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा कैलालीका तीनजना कृषकलाई सम्मान गरिएको छ। धनगढी–४ का कुखुरा पालक किसान विवेक भट्ट, लम्कीचुवा–६ का मौरी पालक किसान किरण पाल भारती र धनगढी–१ की बाख्रा पालक कृषक देवकी कुमारी हमाललाई दोसल्ला, प्रमाणपत्र, कदर पत्रसहित नगद २५ हजार रुपैयाँ प्रदान गर्दै सम्मान गरिएको हो।
कृषिमा आत्मनिर्भरता र उत्पादनशीलता बढाउन उल्लेखनीय योगदान पु¥याएका यी कृषकहरूलाई कृषि ज्ञान केन्द्र कैलालीले आयोजना गरेको कार्यक्रममा सम्मान गरिएको हो। कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरी प्रमुख अतिथिको रूपमा उपस्थित थिए । त्यस्तै, जिल्ला समन्वय समिति कैलालीकी प्रमुख टीका चौधरी, कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख टेकराज विष्ट, मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय लगायत स्थानीय किसानहरूको उपस्थिति थियो।
कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख टेकराज विष्टले स्वदेशमै कृषि व्यवसाय गरेर आत्मनिर्भर बन्ने किसानहरूको योगदान प्रशंसनीय रहेको बताउँदै यस्ता कृषकहरूलाई प्राथमिकतामा राखेर सम्मान गर्दै आएको बताए ।
सम्मानित किसानहरूले आफूहरूको मेहनतलाई कदर गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए। यसरी कृषि क्षेत्रमा सक्रिय किसानलाई प्रोत्साहन गर्नुले अन्य किसानहरूलाई पनि कृषितर्फ आकर्षण बढाउने विश्वास आयोजक कृषि ज्ञान केन्द्र कैलालीले व्यक्त गरेको छ।