धनगढी, १३ असार / विश्व हिन्दू परिषद नेपाल सुदूरपश्चिम प्रदेशद्वारा आयोजित दोस्रो बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। धनगढीको पार्क मोडमा आयोजित रक्तदान कार्यक्रममा ८ जना महिला र ६२ जना पुरुष गरी कुल ७० जनाले रक्तदान गरेका छन्।
कञ्चनपुर, कैलाली, डोटी, दार्चुला र बझाङ्ग जिल्लाबाट आएका रक्तदाताहरूले रक्तदानमार्फत मानव सेवामा सहभागिता जनाएका हुन्।
सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. दुर्गा पण्डितले समेत रक्तदानमा सक्रिय सहभागिता जनाएका थिए। कार्यक्रम थर्ड आई करियर सेन्टर, मालिकार्जुन कम्युटर आईटी, प्राज्ञिक विद्यार्थी परिषद, जनकल्याण प्रतिष्ठान, एकल विद्यालय अभियान लगायतका संस्थाको सहकार्यमा सम्पन्न भएको विश्व हिन्दु परिषद् सुदूरपश्चिम प्रदेशका अध्यक्ष महेन्द्रराज पन्तले जानकारी दिए।
रक्तदान कार्यक्रमका माध्यमबाट समाजमा सकारात्मक सन्देश प्रवाह गर्न र बढ्दो रगत अभावको समस्यालाई केही समाधान गर्नको लागि दोस्रो बृहत रक्तदान कार्यक्रम गरको अध्यक्ष पन्तले बताए।
गत वर्ष भदौ २९ गते विश्व हिन्दू परिषद नेपाल सुदूरपश्चिम प्रदेशले धनगढीको पार्क मोडमै प्रथम बृहत् रक्तदान कार्यक्रम गरेको थियो। परिषदले रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै सामाजिक उत्तरदायित्व वहन गरिरहेको अध्यक्ष पन्तको भनाइ छ।