धनगढी,१२ असार । कैलालीको चुरे गाउँपालिका–४ मा अवस्थित ऐतिहासिक राणाकालीन गर्भा दरबार संरक्षण अभावमा जिर्ण बन्दै गएको छ। पुरातात्विक सम्पदाको सूचीमा सुचीकृत रहेको उक्त संरचना मर्मत सम्भार नहुँदा हाल दक्षिण भित्तोसमेत खसेको छ।
गत असार १० गतेको अविरल वर्षाका कारण दरबारको दक्षिण भाग भत्किएको जानकारी दिँदै चुरे गाउँपालिकाले पुरातत्व विभागलाई पुनः पत्राचार गरेको छ। गाउँपालिकाले यसअघि पनि दरबारको जिर्णोद्धार तथा पुनर्निर्माणका लागि पत्राचार गरेको भए पनि अहिलेसम्म कुनै ठोस पहल नभएको गुनासो गरेको छ।
चुरे गाउँपालिका अध्यक्ष चक्र बोगटीका अनुसार स्थानीयवासी गर्भा दरबारको ऐतिहासिक महत्वलाई बुझेका छन् तर संरक्षणको अभाव छ । ‘दरबारको जग्गा पनि अहिले अतिक्रमणमा परिरहेको छ। कानुनी रूपमा हामी आफैंले पनि मर्मत सम्भार गर्न नमिल्ने भएपछि विभागको सहयोगबिना केही गर्न सक्दैनौं,’ उनले भने।
गाउँपालिका अध्यक्ष बोगटीले दरबारको ऐतिहासिक र सांस्कृतिक महत्व रहेकाले यसको पुनर्निर्माणमा राज्यको ध्यान जान जरुरी रहेको बताए। ‘गर्भा दरबार चुरे क्षेत्रको एक महत्वपूर्ण ऐतिहासिक सम्पदा हो। संरचनाको अवस्था दिनदिनै जिर्ण हुँदै गएको छ। विभागले ढिलाइ नगरी चाँडै जिर्णोद्धार प्रक्रिया अघि बढाउनुपर्छ,’ अध्यक्षले भने।
