धनगढी, १० असार / सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको सुदूरपश्चिम प्रदेश युवा परिषद्को उपाध्यक्षमा गजेन्द्र साउद नियुक्त भएका छन्।
उनलाई आज मुख्यमन्त्री कमल बहादुर शाह र सामाजिक विकास मन्त्री मेघराज खड्काले नियुक्त गरेका हुन । साउद लामो समयदेखि युवा क्षेत्रमा सक्रिय रहँदै आएका छन् र विभिन्न सामाजिक अभियान्ताका रूपमा पनि काम गर्दै आइरहेका छन्।
सुदूरपश्चिम प्रदेश युवा परिषद् युवाहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा नीति निर्माणमा युवाको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले कार्यरत संस्था हो। परिषद्का अध्यक्ष सामाजिक विकास मन्त्री स्वयं रहने प्रावधान छ ।
निवर्तमान कार्यकारी उपाध्यक्ष युवराज कुवँर रहेका थिए । अब साउदको नियुक्तिसँगै परिषद्को गतिविधि अझ प्रभावकारी हुने विश्वास गरिएको छ।