धनगढी, १० असार / वर्षायाम सुरु हुन थालेपछि चैते धानको खेती हुने कैलालीका दक्षिणपूर्वी भेगका किसानलाई यतिबेला धान भित्र्याउन भ्याइनभ्याइ छ । फागुन अन्तिमतिर समयमै चैते धान खेती गर्ने किसानले धान भित्र्याइसकेका छन्, गहुँबाली भित्र्याएर ढिलो गरी खेती गर्नेहरुको फसल बल्ल भित्र्याउने बेला हुन थालेको छ ।
कैलालीको दक्षिणपूर्वी भेगमा चैते धान खेती हुने गरेको छ । वर्षायाममा बाढीले डुबान हुने उक्त क्षेत्रका ५० प्रतिशत बढी किसान वर्षे धानबाली खेती नै नगर्ने, खेती गर्नेहरुले पनि भित्र्याउन नै पाउँदैनन् । कृषि ज्ञान केन्द्र कैलालीको तथ्यांक अनुसार कैलालीको भजनी नगरपालिकाको ३, ५, ६, ७ र ८ नं। वडा क्षेत्र बर्सेनि बाढीबाट डुबानमा पर्ने भएकाले त्यहाँका किसान चैते धान खेती गर्दै आएका छन् । भजनी नगरपालिका क्षेत्रसँगै जिल्लाका जोशीपुर, घोडाघोडी, कैलारी र बर्दगोरीया लगायत क्षेत्रका किसान पनि हालका वर्षमा चैते धानखेतीतर्फ आकर्षित भएका छन् ।
गत वर्ष कैलालीमा साढे ११ सय हेक्टरमा चैते धान खेती गरिएको थियो,’ कृषि ज्ञान केन्द्र कैलालीका कृषि प्रसार अधिकृत रामनारायण चौधरीले भने, यो वर्ष बढेर साढे १३ सय हेक्टरमा चैते धान खेती गरिएको छ ।’ उनका अनुसार धानको उत्पादकत्व पनि राम्रो छ । गत वर्ष प्रतिहेक्टर ५ दशमलव २ मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष गत वर्षकै हारामारीमा थप केही बढ्ने आकलन गरिएको छ,’ चौधरीले बताए । हालका वर्षमा सिँचाइ सुविधाका लागि नहर नपुगेको क्षेत्रमा समेत विद्युत् प्रसारणलाइन बिस्तार हुँदै गएपछि बिजुलीका मोटरबाट बोरिङको पानी तानेर चैते धान खेतीका लागि सिँचाइ सुविधा बढेको छ ।
सहायक कृषि अधिकृत चौधरीका अनुसार कृषि ज्ञान केन्द्रलेसमेत चैते धान खेतीतर्फ किसानहरुलाई आकर्षित गराउन प्रतिकट्ठा बोरिङबाट सिँचाइ गर्न २ हजारसम्म अनुदान दिन थालेपछि पेज किसानहरु पनि लाभान्वित हुन थालेका छन् ।
यस वर्ष सिँचाइ सुविधाका लागि विद्युत् मोटर जडान गर्न ७० जना किसानले अनुदान पाउने छन् । उनीहरुले मोटर जडान गर्न आफूले खरिद गरी ल्याएका उपकरणको बिल पेस गरेपछि कृषि ज्ञान केन्द्रबाट रकम भुक्तानी पाउने व्यवस्था मिलाइएको छ,’ सहायक कृषि प्रसार अधिकृत चौधरीले भने । सिँचाइ सुविधा बिस्तार भएसँगै उत्पादन बढ्नुका साथै चैते धान खेती गर्ने किसानहको संख्या पनि बढेको छ र उत्पादन पनि बर्सेनि बढ्दै गएको चौधरी बताउँछन् ।