धनगढी, १० असार / सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री पदको विवाद चुलिएको छ। ४ जेठमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले ३ असारमा राजीनामा दिन निर्देशन दिएका थिए। तर, चौधरीले राजीनामा दिन अस्वीकार गर्दै खुलेआम बर्खास्त गर्न चुनौती दिएका छन्।
मुख्यमन्त्री शाहले चौधरीको नियुक्तिमा सल्लाह नलिएको, बजेट निर्माणमा चलखेल गरेको र कृषिमन्त्री हुँदा अनुदान वितरणमा विवादमा मुछिएको भन्दै राजीनामा मागेका हुन्। चौधरीले भने आफूले गलत नगरेको र खप्तड कार्यकारी निर्देशकको नियुक्ति मन्त्रीको अधिकारभित्र रहेको जिकिर गरेका छन्।
मन्त्री पदबाट हटाउने निर्देशन कार्यान्वयनमा ढिलाइ हुँदा मुख्यमन्त्री शाहको नैतिकतामाथि प्रश्न उठेको छ। पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टले यस्ता घटनाले प्रदेश सरकारको गरिमा घटाउने बताएका छन्। मुख्यमन्त्रीका सल्लाहकार जितु उपाध्यायले समस्या छिट्टै समाधान हुने दाबी गरे।