धनगढी,१० असार । चौरपाटी गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८२/०८३ का लागि ४७ करोड १० लाख २५ हजार ६ सय ४८ रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको दोस्रो गाउँसभाको सातौँ अधिवेशनमा चौरपाटी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हेमकर्ण खड्काले बजेट प्रस्तुत गर्नुभयो ।
आर्थिक वर्ष ०८२/८३ मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत बजेटमा वित्तीय समानिकरण तर्फ संघ सरकारबाट दुई करोड २२ लाख रुपियाँ, प्रदेश सरकाबाट एक लाख ३४ हजार, राजस्व बाँडफाँटबाट संघ सरकारबाट १० करोड १८ लाख, ६९ हजार, प्रदेश सरकारबाट ३४ लाख ६२ हजार रुपियाँ व्यहोरिने उल्लेख गरिएको छ ।
यस्तै, सर्शत अनुदान संघ सरकारबाट २० करोड ८९ लाख, प्रदेश सरकारबाट ८० लाख, समपुरक अनुदान संघ सरकारबाट एक करोड, प्रदेश सरकारबाट एक करोड २६ लाख, विशेष अनुदान संघ सरकारबाट ६९ लाख, प्रदेश सरकारबाट ७५ लाख प्राप्त हुने अनुमान गरिएको गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउँदले जानकारी दिनुभयो । आन्तरिक स्रोतबाट ८१ लाख ५१ हजार र वाक नेपालबाट ३३ लाख रुपियाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।
आर्थिक वर्ष २०८२/०८३ को वजेटमा विषयगत शाखालाई बजेट विनियोजन गरिएको छ । जसमा सबैभन्दा बढी चालु खर्च तर्फ नौ करोड २४ लाख २५ हजार, वडाका लागि दुई करोड १९ लाख ५० हजार, चालु तर्फ ४२ लाख, शिक्षा शाखा तर्फ दुई करोड ७५ लाख ३७ हजार, स्वास्थ्य शाखा तर्फ दुई करोड १० लाख रुपियाँ, महिला बालबालिका तथा लक्षित वर्गको लागि १५ लाख ४५ हजार, कृषि विकास शाखा १३ लाख ३३ हजार, पशु सेवा शाखाको लागि सात लाख ५० हजार बजेट प्रस्ताव गरिएको गाउँपालिकाका अध्यक्ष साउँदले जानकारी दिनुभयो ।
कृषि क्षेत्रलाई व्यवसायीकरण, भौतिक पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, खानेपानी योजना, खेलकुद, पर्यटन, संस्कृति क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष साउँदको भनाइ रहेको छ ।
गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८२/०८३ का लागि वडामा चालु र विकास निर्माणको लागि दुई करोड ६१ लाख ५० हजार रकम प्रस्ताव गरेको छ । वडाको विकास निर्माणका लागि दुई करोड १९ लाख ५० हजार र सात वटा वडाको लागि चालु तर्फ ४२ लाख रुपियाँ विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष साउँदले जानकारी दिनुभयो ।
चौरपाटी गाउँपालिकाले वडाको भुगोल, जनसङ्ख्याका आधारमा वडाका लागि बजेट प्रस्ताव गरेको छ । सात वटा वडा मध्ये सबैभन्दा बढी वडा नं. १ सिउँडी र कम वडा नं. ७ मार्कुलाई बजेट विनियोजन गरिएको वडा नं. ३ गगुडाका वडा अध्यक्ष विरेन्द्र कुमार साउँदले जानकारी दिनुभयो ।
वडा नं. १ सिउँडीलाई ५४ लाख ५२ हजार ३ सय ८८ रुपियाँ र कम विनियोजन भएको वडा नं. ६ मार्कुलाई २१ लाख ६१ हजार सात सय रुपियाँ विनियोजन गरिएको छ । यस्तै वडा ४ पायललाई ३४ लाख ५९ हजार, वडा नं. २ सोकटलाई ३३ लाख २४ हजार, वडा नं. ५ लुंग्रालाई २७ लाख ३० हजार, वडा नं. ३ गगुडालाई २५ लाख ५३ हजार र वडा नं. ६ दुनीलाई २२ लाख ६७ हजार रुपियाँ प्रस्ताव गरिएको वडा अध्यक्ष विरेन्द्र कुमार साउँदले जानकारी दिनुभयो ।