धनगढी,४ असार । बैतडीको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सिंह बिष्टको कार्यकक्षमा तोडफोड भएको छ ।
पाटन नगरपालिका अन्तर्गत सिद्धपूर स्वास्थ्यचौकी, पाटन–१० मा कार्यरत अनमी नेहा भट्टले आज कार्यालयमा प्रवेश गरी कार्यकक्षमा तोडफोड गरेकी हुन् । तोडफोडका कारण प्रशासकीय अधिकृतको टेबलका सिसा लगायतका सामग्रीहरूमा क्षति पुगेको छ ।
केही समयअघि नगर कार्यपालिकाको निर्णयअनुसार गुजरबाट सिद्धपूर सरुवा भएकी भट्टले आफूलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा पदस्थापन गरिदिन प्रमुख प्रशासकीय अधिकृत बिष्टलाई दवाब दिँदै आएकी थिइन् । तर प्रशासकीय अधिकृत बिष्टले कार्यपालिकाको निर्णय बिना सरुवा गर्न नसकिने स्पष्ट पारेपछि भट्ट असन्तुष्ट बनेकी थिइन् ।
त्यसै रिस–झोकमा कार्यकक्षमा आक्रमण गरेको भन्दै नगरपालिकाका कर्मचारी र सेवा लिन आएका सर्वसाधारण अचम्मित बनेका छन् । घटनापछि नगर प्रमुख गौरी सिंह रावल, उपप्रमुख कमल सिंह बोहरा, इलाका प्रहरी कार्यालय पाटनका प्रतिनिधि तथा सरोकारवाला पक्षहरूको बैठक बसेको छ । अभद्र व्यवहारमा मुद्धा दर्ता गर्ने वा नगर्ने भन्ने बिषयमा छलफल भैरहेको नगरपालिकाले जनाएको छ । । प्रहरीको उपस्थिति र नगर प्रशासनको छलफलबीच घटनाको अनुसन्धान अघि बढाइएको छ ।