धनगढी,२४ जेठ । कैलालीको टीकापुरमा ‘तँ’ भन्यो भन्दै एक महिलामाथि प्रहरी अधिकारीले हातपात गरेका छन्। सत्ती प्रहरी चौकीका ईञ्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक ९सई० यज्ञराज पन्तले टीकापुर नगरपालिकाकी राजकुमारी कुँवर शाहमाथि हातपात गरेका हुन्।
शुक्रवार अपरान्ह करिब साढे चार बजे टीकापुर नगरपालिका–७ स्थित प्रहरी बिट नजिकको क्षेत्रमा शाहमाथि कुटपिट भएको हो। घटना सार्वजनिक भएपछि भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल बनेको छ।
शाह स्कुटी चलाएर धनगढीबाट हुलाकी मार्ग हुँदै टीकापुर आइरहेकी थिइन्। उनी प्रहरी बिट नजिकै रोकिएकी थिइन् भने साथमा १७ वर्षीय प्रेमजंग शाह थिए। महिलाले बताएकी छिन्, उनी पानी किन्न नजिकै गएकी थिइन्। सो क्रममा त्यहाँ रहेका प्रहरी हवल्दार सुरेन्द्र बोहराले साथमा रहेका युवासँग स्कुटीको लाइसेन्स र ब्लुबुक मागे।
महिलाले कागजात आफूसँग भएको बताइन्। तर, सोही क्रममा महिला र हवल्दार बोहरा बीच भनाभन भयो। भनाभनका बीच महिलाले हवल्दारलाई ‘तँ’ भन्दै सम्बोधन गरेकी थिइन्, जसलाई लिएर थप विवाद चर्कियो।
विवाद भइरहेका बेला नजिकै रहेका सई पन्त हस्तक्षेप गर्दै घटनास्थलमा आए। उनी प्रहरी पोशाकमा थिएनन्। महिलाका अनुसार सई पन्तले आइपुगेपछि परिचय नदिईकन एक्कासी हातपात गर्न थाले। शाहले उनी प्रहरी होइनन् कि भन्ने शंका व्यक्त गरेपछि सई पन्त झन् आक्रोशित बनेका थिए।
सई पन्तले जबर्जस्ती महिलालाई प्रहरी बिटभित्र लैजान खोज्दा थप भनाभन भयो। यस्तै क्रममा प्रहरीले ती महिलामाथि कुटपिट गर्दै नियन्त्रणमा राखेको हो। घटनाको जानकारी इलाका प्रहरी कार्यालय टीकापुरमा पुगेपछि रातभरि छलफल चल्यो। राति १२ बजेसम्म दुवै पक्षबीच छलफल भए पनि महिलाले कारबाहीको माग गरेकी छन्।
कैलाली प्रहरी प्रमुख एसपी बालनरसिंह राणाले घटनाबारे बुझ्न सई पन्त र हवल्दार बोहरालाई जिल्ला प्रहरी कार्यालयमा बोलाएको बताए। “भिडियो हेर्दा प्रहरीले गल्ती गरेको देखिन्छ,” एसपी राणाले भने, “महिलाले पनि अपशब्द प्रयोग गरेको भन्ने सुनिएको छ, तर प्रहरीबाट भएको हातपात गलत हो। कारबाही हुन्छ।”
एसपी राणाका अनुसार प्रहरी अधिकारीलाई विभागीय कारबाही प्रक्रिया अघि बढाइनेछ। प्रहरीले भने महिलाले गाली बेइज्जती गरेकाले बल प्रयोग गर्नु परेको दाबी गरेको छ। एसपी राणाले आफूले पीडित महिलालाई फोन गर्दा उनी ‘अस्वभाविक रूपमा’ बोलेको समेत उल्लेख गरेका छन्।
तर, सार्वजनिक भएको भिडियोले प्रहरीद्वारा सर्वसाधारणमाथि दमन तथा अधिकार दुरुपयोग भएको स्पष्ट संकेत गरेको भन्दै स्थानीयवासी र अधिकारकर्मीले घटनाको निष्पक्ष छानबिन र कडा कारबाहीको माग गरेका छन्।