धनगढी,२३ जेठ । सुदूरपश्चिमकै शक्ति पिठका रुपमा रहेको बेहडाबाबा मन्दिरमा परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले दर्शन गर्नु भएको छ । कैलालीको धनगढी–१६, रामपुरमा रहेको प्रशिद्ध बेहडाबाबा मन्दिरको दर्शन गर्न परराष्ट्रमन्त्री राणा शुक्रबार पुग्नु भएको हो ।
दर्शन गर्न पुग्नु भएकी परराष्ट्रमन्त्री राणाले आगन्तुक पुस्तिकामा बेहडाबाबाको दर्शन पाएकोमा खुशी व्यक्त गर्नुहुँदै बेहडाबाबाले देशमा शान्ति तथा अमनचयनको कामना उल्लेख गर्नुभयो । हरेक वर्ष गंगादशहराका अवसरमा लाग्ने बेहडाबाबा मन्दिरमा दर्शन गर्न पुग्नु भएकी परराष्ट्रमन्त्री राणाले बेहडाबाबाले मन्दिर व्यवस्थापन समितिलाई मायाको चिनो समेत हस्तान्तरण गर्नु भएको थियो ।
यसअघि सुदूरपश्चिम आएको समयमा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले समेत बेहडाबाबा मन्दिरको दर्शन गरिसक्नु भएको छ ।
सुदूरपश्चिमकै धार्मिक आस्थाको केन्द्रविन्दु बन्दै गएको बेहडाबाबा मन्दिरको दर्शन गर्न परराष्ट्रमन्त्री राणा आएसँगै यस क्षेत्रको धार्मिक विकासमा मद्दत पुग्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘परराष्ट्रमन्त्री राणाले कैलाली क्षेत्र नम्बर ५ बाट नै चुनाव लड्ने बताउँदै आउनु भएको छ, उहाँको बेहडाबाबाको दर्शन सँगै यस क्षेत्रको धार्मिक पर्यटन विकासमा टेवा पुग्छ ।’’
विहीबारदेखि बेहडाबाबा मन्दिरमा सुरु भएको गंगादशहरा मेला जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । मेलामा सुदूरपश्चिमका विभिन्न जिल्लाका साथै भारतका उत्तरप्रदेश, उत्तराखण्डलगायतका श्रद्धालु भक्तजनहरु दर्शन गर्न बेहडाबाबा पुग्ने गर्छन् । परराष्ट्रमन्त्री राणा लगानी तथा विकास सम्मेलनमा सहभागी हुन सोमबार धनगढीमा पुग्नु भएको हो । उहाँ शनिबारसम्म धनगढीमै रहेन कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।