धनगढी,२२ जेठ । कैलालीको चुरे गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको स्थायीत्व अभावले प्रशासनिक कामकाज प्रभावित भएको छ । हाल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा शिक्षा शाखा प्रमुख विविराज सोतीले निमित्त रूपमा प्रशासन चलाइरहेका छन् । जबकी प्रशासन चलाउन प्रशासन समूहको कर्मचारी चाहिन्छ । सोती भने प्राविधिकतर्फका कर्मचारी हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत वर्ष असोजमा तेज बहादुर बोगटीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर चुरे पठाएको थियो । तर, उनले ६ महिनासमेत सेवा नदिँदै सरुवा भएपछि पुनः सोतीलाई नै निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो। बोगटी आउनुअघि पनि सोती दुईपटक निमित्त रूपमा गाउँपालिकाको प्रशासन सम्हालिसकेका थिए।
२०७३ सालदेखि हालसम्म चुरे गाउँपालिकामा १२ पटक प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भइसकेका छन्। सो अवधिमा मात्र सोतीले तीनपटक निमित्त प्रमुखको जिम्मेवारी पाएका छन्। गाउँपालिकाका अध्यक्षले आफू अनुकूल नभएका अधिकृतलाई सरुवा गराउने गरेको आरोप लाग्दै आएको छ। स्रोतका अनुसार पालिकाभित्र देखिएको आर्थिक अनियमितता तथा भ्रष्टाचार नियमन गर्न खोज्ने प्रमुख प्रशासकीय अधिकृतहरूलाई हटाउने गरिएको छ । यसै क्रममा केही समयअघि अध्यक्षका स्वकीय सचिव राम भाटलाई पेट्रोलको अनियमित प्रयोगमा रोक लगाउँदा प्रमुख प्रशासकीय अधिकृत बोगटीको सरुवा गरिएको थियो।
हाल विविराज सोती गाउँपालिका अध्यक्षसँग मिल्ने स्वभाव भएका कारण पुनः निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइएको आरोप अध्यक्षमाथि लागेको छ । जबकी गाउँपालिका अध्यक्ष भने प्रमुख प्रशासकीय अधिकृत नहुँदा ज्येष्ठताका आधारमा नै सोतीलाई निमित्त दिएको स्वीकार्छन् । ‘सेटिङ’ मिलाउन सिपालु मानिने सोतीले राजनीतिक पहुँचका आधारमा तीनपटक जिम्मेवारी पाएको भन्दै आलोचना हुँदै आएको छ ।
नेकपा (एकीकृत समाजवादी) का चुरे गाउँपालिका इन्चार्ज सुरेन्द्र खडायतले समेत प्रमुख प्रशासकीय अधिकृतलाई चुरेमा बस्न नदिने वातावरण स्थानीय जनप्रतिनिधिले सिर्जना गरेको आरोप लगाएका छन्। ‘जनप्रतिनिधिको स्वार्थपूर्ति नभएपछि प्रमुख प्रशासकीय अधिकृतलाई पावरको दुरुपयोग गरी सरुवा गरिन्छ,’ उनले भने, ‘सत्ता उन्मादका कारण अहिले चुरेमा स्थायीरुपमा प्रमुख प्रशासकीय अधिकृत बस्नै चाहँदैनन्।’
उनले अहिलेका निमित्त प्रमुख विविराज सोतीले अघिल्लो अधिकृत तेज बहादुर बोगटीलाई टिक्न नदिने भूमिका खेलेको भानसमेत चुरेबासीलाई भएको उनले दाबी गरे। प्रमुख प्रशासकीय अधिकृत आउने बित्तिकै दुई–तीन महिनामै सरुवा हुने गरेको विगतका गतिविधिले छर्लङ्गै पारेको बताउँदै उनले भने,‘प्रमुख प्रशासकीय अधिकृतलाई पालिकाको हितमा काम गर्ने बातावरण नै हुन दिदैन् ।’ निमित्त रहेर पालिका चलाइरहेका सोतीलाई चुरेमा के के बिकास भएको छ ? भनेर सोध्दा मलाई थाहै छैन एक महिना भयो निमित्तमा बसेको भन्ने जस्तो गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिने गरेको उनले बताए ।
अध्यक्षको अनुकूल काम गर्ने कर्मचारीलाई मात्रै ‘राम्रो’ कर्मचारीका रुपमा मानिने प्रवृत्ति रहेको बताउँदै स्रोत नखुलाउने शर्तमा पालिकाका केही कर्मचारीले भने,‘हालका निमित्त प्रमुख प्रशासकीय अधिकृत पनि राजनीतिक दलहरूको अनुकूल भएर काम गर्दै आएका छन् । जसले गर्दा उनी अध्यक्षका लोकप्रिय कर्मचारी मात्रै हैनन् विश्वासिला खम्बा हुन् ।
नेपाली कांग्रेस चुरे गाउँपालिकाका उपाध्यक्ष गोपाल शाहले सोती नेकपा एमाले निकट कर्मचारी संगठनका सदस्य रहेको बताए । उनले भने,‘गाउँपालिकामा हुने भ्रष्टाचारलाई लुकाउन पनि सोतीलाई नै निमित्तको रुपमा दिने गरिएको हो ।’ गाउँपालिकामा आउने प्रमुख प्रशासकीय अधिकृतलाई नै आउनु अगावै आफू अनुकुलको बार्गेनिङ गर्ने गरिएकाले नै प्रमुख प्रशासकीय अधिकृतहरु आउनै नमान्ने गरेको बताउँदै उनले भने,‘प्रशासकीय अधिकृतलाई आउनै नदिने र आए पनि गाउँपालिकाले बागर्नेनिङ गर्ने गरेको छ ।’
प्रमुख प्रशासकीय अधिकृत राख्ने र हटाउने अधिकार आफ्नो हातमा नरहेको गाउँपालिका अध्यक्ष च्रक बोगटीले बताए । उनले भने, ‘चुरेमा काम गर्ने वातावरण दिएकै थियांै । तर, माथिबाटै सरुवा भएर जानु हुन्छ । हामीले राख्ने हटाउने भन्ने हुदैन ।’