धनगढी, २२ जेठ / धनगढी उपमहानगरपालिकाका नगर प्रहरी पुनः समातिएका छन्। जिल्ला प्रहरी कार्यालयको हिरासतबाट थुनामुक्त भएका धनगढीका नगर प्रहरीहरु फेरी पक्राउ परेका हुन्।
कैलालीको धनगढीस्थित त्रिनगर भन्सारका प्रमुख अनन्त तिमिल्सिनामाथि कुटपिट गरेपछि १२ जेठमा पक्राउ परेका धनगढी नगर प्रहरीका प्रमुख लक्ष्मणसिंह धामीसहितका चार जना मंगलबार जिल्ला प्रहरी कार्यालयको हिरासतबाट थुनामुक्त भएका थिए।
उनीहरु थुनामुक्त भएपनि भन्सार कार्यालयले भन्सार ऐनअनुुसार अनुसन्धान अघि बढाएपछि फेरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले भन्सार कार्यालयले भन्सार ऐनअनुसार अनुसन्धान गरिरहेकाले नगर प्रहरीलाई फेरी हिरासतमा राखिएको बताए।
पक्राउ परेका मध्ये नगर प्रहरीका सवारी चालक हसनबहादुर मल्ललाई भने स्वास्थ्य समस्याका कारण छाडिएको छ। उनी बाहेक नगर प्रहरी निरीक्षक धामी, हवल्दार मणीदत्त भट्ट र जवान जितेन्द्र सिंह धामी भने जिल्ला प्रहरी कार्यालयकै हिरासतमा छन्।
उनीहरुविरुद्ध भन्सार ऐनअनुसार मुद्दा दर्ता गरिएको छ। यो मुद्दाको सुनवाई भन्सार कार्यालय कैलाली आफैले गर्नेछ। प्रहरीले भन्सार कार्यालयको आग्रहमा हिरासतमा राखेर सहयोग मात्रै गरेको जनाएको छ।
१० जेठको राती भन्सार कार्यालयभित्रै घुसेर नगर प्रहरी निरीक्षक धामीसहितका चार जना नगर प्रहरीले भन्सार प्रमुख तिमिल्सिनामाथि कुटपिट गरेका थिए। उनीहरुविरुद्ध अभद्र व्यवहार शिर्षकमा किटानी जाहेरी परेपछि १२ जेठमा कैलाली प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो।