धनगढी , २१ जेठ / परराष्ट्रमन्त्री आरजु राणा देउवाले विकास र समृद्धिका लागि सबै एकजुुट हुनुपर्ने बताएकी छन् । प्रदेश सरकारले धनगढीमा आयोजना गरेको सुदूरपश्चिम लगानी तथा विकास तयारी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री राणाले राजनीतिक विचार र आस्था जेसुकै भएपनि विकासका लागि भने एकजुट हुनुपर्ने बताएकी हुन् ।
‘सुदूरपश्चिम प्रदेश पर्यटन, कृषि तथा प्राकृतिक सम्पदाले सम्भावना नै सम्भावना भएको प्रदेश हो । लगानीकर्ताका लागि राम्रो लगानीको वातावरण छ,’ मन्त्री राणाले भनिन्, ‘हाम्रा राजनीतिक विचार फरक–फरक भएपनि विकासमा एक हुनुपर्छ । प्रदेशमा लगानी भित्र्याउन वातावरण बनाउन लागौँ ।’
उनले छिटोछिटो विकासको अपेक्षा राख्नुु स्वभाविक भएको बताउँदै सरकार र दुई ठूला पार्टीले दीगो विकासको अवधारणाअनुसार काम अघि बढाइरहेको उल्लेख गरिन् । दीगो विकासकै लागि नेपाली कांग्रेस र नेकपा एमालेले सरकार सञ्चालनमा सहकार्य गरेको उनको भनाइ थियो । तर विगतको तुलनामा सुदूूरपश्चिममा धेरै विकास, निर्माणका काम भइसकेको परराष्ट्रमन्त्री राणाको दाबी छ ।
मन्त्री राणाले लगानी तथा विकास तयारी सम्मेलनको उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथिको हैसियतमा सम्बोधन गरेकी थिइन् ।